![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/Subaschandra-Nembang_2_baolYqHV8C.jpg?fit=1200%2C657&ssl=1)
२९ भदौ,वीरगञ्ज । नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको हो ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।
जसअनुसार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने अन्य छ प्रदेशमा हुने गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जाने बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुने छ भने कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने एमालेले जनाएको छ ।
सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा।भीष्मनाथ अधिकारीले जानकारी दिनुभयो ।