Logo

सरोजबाबुको मानसिक अवस्था यता केही दिनदेखि अनौठो भएको छ । आँखा दिनभरि सुन्यमै गडेका हुन्छन्, बेलाकुबेला आँखाबाट आँसु बरर्र झर्न थाल्छन् । बोल्न सुरू गरे भने चुप नै हुदैनन् । सरोजबाबुको यस्तो अवस्था हुनुपछाडिको कारण परिवारका सदस्यले ‘सन १९९३ मा बनेको सिन्डलर्स लिष्ट नामक सिनेमा नै हो’ भन्छन् । अमेरिकामा निर्मित सो सिनेमामा लियोन निसनले जर्मन उद्योगपति– ओस्कर सिन्डलर्को रूपमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका थिए भने जोन किङ्स्लेले यहुदी लेखापाल– इत्जाक स्टर्नको रूपमा सहायक अभिनेताको भूमिका निर्वाह गरेका थिए । सुरूदेखि अन्तसम्म सो सिनेमामा नाजी सेनाको बर्बरता र सो बर्बरताको विरूद्धमा ओस्कर शिन्डलर्ले गरेको अति जोखिमपूर्ण प्रयास देखाइएको छ ।

सरोजबाबुले मोटामोटी २५ बर्षअगाडि पनि त्यही सिनेमा हेरेका थिए, त्यो पनि ठूलो पर्दामा । उतिबेला उनी जोशजाँगर भएका लख्खा जवान थिए । उनी आफै भन्छन्, “प्रथम पटक हेर्दा उनलाई त्यो सिनेमा अनाहकमा तर्साउनलाई बनाएको अतिरञ्जित कथाजस्तो लागेको थियो ।” यो पटक हेर्दा उनको अवस्था विचित्र पाराको भएको छ । खोत्लिन खोज्दा उनी सो सिनेमामा खलनायककी भान्सेको रूपमा कार्यरत एक यहुदी पात्राको भनाई दोहर्याउछन्, “मलाई थाहा छ, नाजीहरू कुनै बेला मेरो पनि हत्या गर्न सक्छन् । तर म बाँच्न चाहन्छु । के गर्दा बाँच्न सकिन्छ रु कुन नियम पालन गर्दा नाजीहरूले ज्यान लिदैनन् रु त्यो यकिन नै हुन सकेको छैन ।”

उनी अचेल स्वयम्लाई सिन्डलस् मान्न थालेका छन् । सिन्डलस् लिष्टको हरेक दृश्यसित नेपालको घटनाक्रमसित बलजफ़्ति जोड्न थालेका छन् । “यो देशको टाँट कुनै बेला पनि पल्टिन सक्छ । देशमा कुनै बेला पनि नयाँ हिटलर आउन सक्छ । नयाँ युद्ध घन्किनसक्छ । भएका कारागारहरूमा गोडा राख्ने ठाँउ हुदैन । स्कुलकालेजहरू कारागारको रूपमा प्रयोग हुने छन् । निर्दोषहरू अनाहकमै मारिनसक्छन् ।” सिरनपुच्छरका भविष्यवाणी गर्दै हिडेका छन् । घरका मान्छे सम्झाएर हैरान छन्, “नाजी सेनाको बर्बरता अतितको कुरो हो । अनि तपाई उहिलेको जर्मनीमा होइन अहिलेको नेपालमा हुनु हुन्छ । यहाँ तपाईको मात्र होइन, कुनै पनि समान्य नागरिकको अधिकार अथवा ज्यानमाललाई खतरा छैन ।”

उनी बुझ्न अथवा सुन्न माने पो । सिर न पुच्छरका कुतर्कहरू झिकिराख्छन्, “देशका युवाहरूको जाँगर लुटिँदै छ, विवेक–बुद्धिको हत्या हुँदै छ । उनीहरूको सकारात्मक सोचको बलात्कार हुँदै छ । जे गर्दा पनि सोचेजस्तो काम पाएका छैनन् । पढाई गरे अनुसारको काम पाएका छैनन् । जानेको सिप अनुसार उद्यम गर्न सकेका छैनन् । देश बनाउन खोज्दा अगाडि बढ्न दिइएको छैन । उनीहरूको हातमा रातो मसी भरिएको कलम हुनु पर्ने तर झण्डा र डण्डाबाहेक क्यै पाएका छैनन् ।” लोकसेवाको तैयारी गरिराखेका युवाहरूलाई खुलेयाम भन्न थालेका छन्, “स्वाभिमानको भारी बोकेर त्यो बाटोमा हिड्न गार्हो हुन्छ बाबु । यहाँ हरेक तबकामा गुटबन्दी छ । गुटका नाइकेको चाकडी गर्नु पर्छ । गतिलो ठाँउमा पुग्न अनेक ढोकामा गएर ढोग्नु पर्छ । बरू, चिया पसल खोल्यौ भने तिम्रो स्वाभिमान एक हदमा जोगिन सक्छ ।”

उनी लखर लखर गर्दै दिनहु अन्तर्राष्ट्रिय हवाई अड्डा पुग्छन्, विदेशिन लागेका प्रत्येक युवालाई बधाई दिँदै एउटै कुरोको रटान हान्छन्, “जाउ १ जाउ १ यहाँ फर्किएर कहिल्यै नआउ । उतै कुनै काम खोज्नु । यहाँ खतरा छ ।” अब त आफ़्नै सन्तानलाई समेत उल्टोपुल्टो अर्ति दिन थालेका छन्, “म बुढो मान्छे यही जन्मे, यही मर्छु । बरू तिमीहरू कुनै राम्रो देश खोजेर गइदेउ । यो देशमा अब तिमीहरूको भविष्य रहेन ।”

‘यस्ता वाहियात कुरोहरूउपर टाउको नदुखाउनोस् न’ भनेर जति सम्झाए पनि उनी सुन्न तैयार छैनन् । उनी आफै उच्च तहमा पुगेर अवकास प्राप्त गरेका राष्ट्रसेवक, हाकाहाकी भन्छन्, “यो देशको नीतिनियम नै एनी हाउ दुई पैसो एक्स्ट्रा बनाउ खाले छ । हरेक नीतिनियममा जानाजानी दुलोहरु राखिएका छन् । राखिएन भने उपल्लो आम्दानी कसरी हुनु रु यहाँ हरेक क्षेत्रमा बेइमानहरूको हालीमुहाली छ। यो देशमा तक्मा पाउनेलाई पनि थाहा हुदैन कि कुन काम गरेवापत उसले तक्मा पाएको छ।”
उनको छिमेकमा सोमेश्वर नाम भएको एक जना ब्यापारी बस्छ । उसको स्माल मिस्टकले ठूलो गल्ती भयो । आफ्नो टिवी, फ्रिज आदिको एक नयाँ सो रूमको उद्घाटन कार्यक्रम पाल्न उनलाई निम्तो दिन गई दियो । सोमेश्वरलाई हेर्न बित्तिक्के उनको एकसरो बकबक सुरू भइहाल्यो, “ब्यापार किन गरेको रु जेल जाने मन छ रु राजनितीमा किन जाँदैनौ रु तिमीजस्ताको भविष्य राजनितीमा बढी छ । यहाँ पनि कानुन मिचेकै छौ, उता पनि त्यही त गर्ने हो । बरू उता नाम र दाम, दुबै कमाउने छौ । र, हातमा पावर पनि हुनेछ । सोर्सपैरवी लगाउनु पर्यो भने मलाई भन्नु ।” विचरो सोमेश्वर रून्चे मुख लिँदै त्यहाँबाट फर्कियो ।

उनको दृष्टिमा यो देशमा कानुनले वर्जित जुक्तिहरू प्रयोग गरिएन भने यहाँका ब्यवशायिक प्रतिष्ठान सफल हुनै सक्दैन् । ब्यवशायिक प्रतिष्ठानहरूमा जति जोगिएर काम गरे पनि कुनै न कुनै कानुनको फन्दामा मज्जाले तान्न सकिन्छ । कानुनको ब्याख्या नै परिस्थिति अनुसार फेरिन सकिने खालको जस्तो छ, एक कोषिय अमिबाजस्तै । एउटा मन्त्रालयको कानुन आर्कोसित बाँझिएको छ । एउटा विभाग आर्को विभागको कुरो सुन्दैन । तिन तहका सरकारहरू बीच सदैव बाझाबाझ नै चलिरहन्छ । ब्यवशायीले एउटा कानुनको पालना गर्दा आर्को कानुनको अवहेलना गरिराखेकै हुन्छ ।”

“छ्या १ तपाईले हुदै नभएका कुराहरूबारे यसरी बोल्नु हुदैनथ्यो ।” सबैले सम्झाउँछन् । तर उनको मगजमा ‘पुष्पा झुकेगा नहीं, साला’ को भूत चढेकोजस्तो छ,मान्दैनन् । उनलाई कोही राष्ट्रसेवक भेट्न गयो भने सर्वप्रथम सोध्छन्, “तिमीलाई कुनै राजनैतिक पार्टीको संरक्षण प्राप्त छ कि छैन रु छ भने कुन तहको नेतासम्म पहुच छ रु तिम्रो पहुचवाला नेताको उठबस सतारूढ महानेताहरूसँग छ कि छैन रु” उनी हाकाहाकी भन्दै हिडेका छन्, “यो देशमा राजनैतिक संरक्षण प्राप्त नभएको राष्ट्रिय सेवकको काम नै छैन । पत्याउँदै नपत्याएकाहरू माथि उठ्दै जाने छन् । कर्मठ राष्ट्रसेवकहरू जहीँको तहीँ अडकिरहने छन् ।

अस्ति अन्तर्राष्ट्रिय खेलमा मेडल जितेर विदेशबाट फर्किदै गरेका खेलाडीहरूसित उनको जम्काभेट भयो । हवाई अड्डामै मगज खान सुरू गरिदिएका थिए, “यति राम्रो प्रदर्शन गर्यौं । हाम्रो नाक ठाडो भयो । तर अब तिमीहरूउपर कुनै बेला पनि कुनै मुद्दा लाग्न सक्छ । तिमीहरूको बहानामा सोशलमिडिया वार सुरू हुन सक्छ । बरू उतै कुनै देशमा सिफ्ट भए हुन्थ्यो । यता तिमीहरmलाई माया गरेजस्तो नाटक मात्र गर्छन् । उता तिमीलाई माया मात्र होइन, तिम्रो रक्षा पनि गर्ने छन् ।”

हिजो त हदै भयो । उनको छोरो, खगेश्वर उनलाई डाक्टर हेराउन लगेको थियो । उनी डाक्टरकै सातो खान थाले, “तपाईको डाक्टरीको प्रमाण पत्र जाली पनि हुन सक्छ । पहिला आफ्नो प्रमाण पत्र असली छ भनेर पुष्टी गर्नोस्, अनि मात्र मेरो शरीरको जाँचपडताल गर्नु होला ।” अपमानभावले विचरा डाक्टरको अनुहार रातो भएको थियो । “होइन बुवा । हजारमा एक दुईको प्रमाण पत्रमा गडबडी भएको हुन सक्छ । त्यो पनि नेपालबाहिर पढेकाहरूको । म त नेपालमै मेडिकल पास गरेको हुँ ।” डाक्टरले यति भनेपछि उनी जाँच गराउन माने । जाँच गराउँदागराउँदै उनले थप बम फोडिहाले, “डाक्टर साप, तपाई अहिलेसम्म गोदाई खानु भएछ कि छैन ?”
डाक्टरले लजाउँदै सकार्यो, “एक महिनाअगाडि त खाएको थिए । अस्पतालको कैन्टीनमा बसेर अन्य डाक्टरका साथ चिया खाँदै थिए । एक हुल मान्छे आए, धमाधम हिर्काउन थाले । केही बुझ्न नपाउँदै हिर्काएर हिडिहाले । पछि थाहा पाए, उनको कुनै आफन्तको मृत्यु भएछ ।” ‘त्यसो भए अब तपाई नेपाल बस्न योग्य हुनु भयो । बधाई छ ।” डाक्टरसित हात मिलाउँदै सरोजबाबुले भने ।

उनको छोरो खगेश्वरलाई निकै लाज भयो । डाक्टरलाई एक कुनामा लग्यो । मसिनो स्वरमा माफी माग्दै सोध्यो डाक्टर साप, “यिनलाई खासमा कुन रोगले गालेको छ रु” “खासमा यिनलाई फ्रस्टेशनोमेनिया भएको छ ।” डाक्टरको स्वरमा गम्भीरता थियो । “यो रोगको उपचार सम्भव छ कि छैन रु” खगेश्वरको चिन्ता झनै बढ्यो । “यस्तो रोगको लागि कुनै औषधी त अहिलेसम्म बनेको छैन ।” डाक्टरले लाचारी प्रकट गर्यो । केही बेरको गुणाभागपश्चात् डाक्टरको अनुहार उज्येलियो, “एउटा उपाय त छ । तर अलि खर्चिलो छ । यिनको लागि कुनै सानोतिनो मन्त्रालय जोहो गरिदिनु भयो भने पनि सबै समस्याको समाधान आफसे आफ हुनेछ । क्यै गर्नै पर्दैन । यिनलाई देशको अर्थब्यवस्था, शान्ति–सुब्यवस्था, रोजगार–ब्यापारजस्ता हरेक थोक आफसे आफ ठीकठाँउमा फर्किएको लाग्न थाल्ने छ । अहिले बकबक गरिराख्नु भएका कुरोहरूको ठीक उल्टो बोल्न थाल्नु हुन्छ ।”


सम्बन्धित समाचार