Logo

३० भदौ,वीरगञ्ज । मकवानपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पर्साका तीनजना सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ टाँगा बस्ने ३२ वर्षीय मनोज यादव, ३० वर्षीय अमिरलाल प्रसाद यादव, ४५ वर्षीय जंगबहादुर पासवान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–१० बसपार्क सडकमा शंकास्पद रुपमा उभिरहेका उनीहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा तीनैजनाले कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिक भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागूऔषध गाँजा ६ किलो फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौडा उपमहानगरपालिका–५ पिप्ले घर भई हाल वडा नं.११ नवलपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका वडा नं. ६ बस्ने २१ वर्षीय रुपा विश्वकर्मालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिइएको छ ।

भदौ २७ गते हेटौडा वडा नं.१० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा कालो रुमाल भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा उनीहरुको साथबाट लागुऔषध खैरो हेरोईन १२ ग्राम ७४० मिलीग्राम बरामद भएको मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।


सम्बन्धित समाचार