Logo

फाइल तस्विर

३१ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले एउटै नम्बर प्लेटका २ वटा भारतीय ट्रक पक्राउ गरेर बीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
शनिबार साँझ सशस्त्र प्रहरी बल पर्सालाई आएको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले एकीकृत भन्सार जाँच चौकी (आइसिपी) अलौंबाट २ वटै ट्रक पक्राउ ग¥यो । सशस्त्र प्रहरीले सामान खाली गरेर भारततर्फ फर्किदै गरेको ट्रकलाई आइसिपी गेटबाहिरबाट पक्राउ ग¥यो भने अर्को मकै लोड रहेको ट्रकलाई भने आइसिपीभित्रैबाट नियन्त्रणमा लियो,जुन भन्सारको प्रक्रियामा थियो ।

सशस्त्र प्रहरीको टोलीले बरामद गरेको २ वटै ट्रकमा एउटै नम्बर राखिएको छ, जुन हो युपी ७० एफटी २५२५ । बरामद गरिएका यी दुइवटै ट्रकलाई थप अनुसन्धानको लागि बीरगन्ज भन्सार कार्र्यालय पर्सामा आइतबार बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता संगम श्रेष्ठले जनाए ।

उनी भन्छन्,‘बरामद गरिएको ट्रकसहित सामानको अनुसन्धान गर्ने अधिकार भन्सार कार्यालयलाई छ, त्यहीँभएर हामी प्रक्रिया अगाडि बढाउँन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएका हौ।’

सरकारी ‘सेटिङ’मा तस्करी

बीरगन्ज भन्सार कार्यालयकै मिलोमतोमा राजश्व चुहावट भइरहेको पाइएको छ । सशस्त्र प्रहरीले एउटै नम्बर प्लेटका भारतीय ट्रक पक्राउ गरेपछि राजश्व चुहावटको घटनाको उजागर भएको हो ।

कारण–यो अपवादमा भएको घटना होइन । किनकी यसअघि पनि यही तरिकाबाट तस्करी हुँदा गाडी पक्राउ परेको रेकर्ड छ । सशस्त्र प्रहरीका अनुसार एउटै नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरेर ०७८ मंसीर १८ गते पनि तस्करी भइरहेको थियो ।

यसैगरी सूचना आएपछि त्यो बेला पनि सशस्त्र प्रहरीले नै ती २ वटै गाडीलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको थियो । त्यसबेला सशस्त्र प्रहरीले बीआर ०६ जीडी २६९८ नम्बरको गाडी पक्राउ गरेको थियो ।

त्यसकारण यी २ घटना अपवाद मात्रै होइनन्, सेटिङमा भइरहेको तस्करीको पर्दाफास पनि हो । किनकी यी २ घटनाले नै भन्सारबाट सेटिङमा भइरहेको तस्करीलाई पुष्टि गर्न बल पुगेको छ ।

कसरी छ मिलोमतो ?

सामान्यतः भारतबाट नेपाल प्रवेश गर्दा दुबै देशको नाकामा ‘इन्ट्री’ पास दिने प्रवाधान छ । बिना ‘इन्ट्री पास’ एकदेशबाट अर्को देशमा प्रवेश गर्न नमिल्ने भन्सार कर्मचारी बताउँछन् । अर्थात् गाडी प्रवेशका लागि गाडी चालकसँग इन्ट्री पास हुनैपर्छ,जुन पासले नै भन्सारको बाँकी प्रक्रिया अगाडि बढ्छ ।

एक जना भन्सार कर्मचारी भन्छन्,‘यही इन्ट्री पास दिने बेलामा त्यहाँ गाडी नम्बरसहित अन्य विवरण राखेर पास दिइन्छ, अनि त्यो गाडी पुनः एग्जिट नभएसम्म त्यही नम्बरका गाडीलाई फेरि अर्को इन्ट्री पास दिन मिल्दैन् । यदि कसैले दिन्छ भने त्यो उसको बदमासी हो ।’ अर्थात् यो चलखेलको संकेत रहेको उनको ठम्याइछ । उनी भन्छन्,‘किनकी एउटै नम्बरको गाडीलाइ २ पटक इन्ट्री गर्न कम्प्यूटरले पनि लिँदैन,त्यसकारण सबैको मिलोमतोमा मात्रै पास दिने काम सम्भव छ।’

कर्मचारीले राजश्व चुहावट गरे के हुन्छ ?

राजश्व विभागले राजश्व चुहावटबारे बेग्लै नियमावली बनाएको छ । राजश्व चुहावट ऐन २०५२ को परिच्छेद २ मा भनिएको छ – कुनै पनि व्यक्तिले राजस्व चुहावट गर्न, गराउन वा गर्ने उद्योग गर्न वा त्यस्तो कार्य गर्न कुनै पनि कर्मचारीलाई कुनै पनि प्रकारले मद्दत गर्ने वा त्यस्तो कार्यमा मतियार हुनु हुँदैन । यदि त्यस्तो गरेको पाइएमा ती राजश्व चुहावटको कसूर गरेको मानिनेछ । यसरी गरेको पाइएमा आवश्यक छानविन गरी विभागले कारबाही गर्ने व्यवस्था छ ।

पक्राउ परेको २ वटै गाडीबारे बीरगन्ज भन्सारले ठोस प्रतिक्रिया दिएको छैन । बीरगन्ज भन्सारका प्रवक्ता रामचन्द्र ढकालसंग रेसखबरले कुरा गर्दा उनको प्रतिक्रिया छ– ‘सशस्त्र प्रहरीले २ वटा गाडी नियन्त्रणमा लिएर भन्सार कार्यालयमा केहीवेर अघिमात्र बुझाएको छ, भोली देखि हामी अनुसन्धान गर्छौ । अनुसन्धान नगरी गाडीका बारेमा केही भन्न सकिदैन, हामीसँग अहिले ती गाडीको बारेमा विशेष जानकारी छैन।’

अहिले यसमा केही अनुसन्धान नभएकाले प्रतिक्रिया दिन नमिल्ने उनी बताउँछन् ।


सम्बन्धित समाचार