Logo

बीरगन्जमा रहेको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) तस्विर : फाइल फाेटाे

१ असोज, वीरगञ्ज । बीरगन्जमा रहेको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को माध्यमबाट नै अवैध कारोबार भइरहेको खुलासा भएको छ ।

आइसिपीमा रहेका कर्मचारीहरुको मिलोमतोमा भारतीय नम्बर प्लेट भएको ट्रकबाट नेपाल–भारत अवैध कारोबार भइरहेको तथ्य बाहिर आएको हो ।

यस्तो छ तथ्य

मकवानपुर सशस्त्र प्रहरीको टोलीले आइतबार भारतीय नम्बरको ट्रकबाट ठूलो परिणाममा लागुऔाषध गाँजा बरामद ग¥यो । यही घटनाबाट ‘मकै लोड वाला’ ट्रकको वास्तविकताको उजागर भएको हो ।

सशस्त्र प्रहरीले ४८ घण्टा अगाडि आएको सूचनालाई आधार मानी गरेको जाँचको क्रममा सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले ९ सय १९ किलोग्राम गाँजासहित भारतीय ट्रक पक्राउ ग¥यो ।

ट्रक नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीले पाएको सूचना अनुसार खानतलासी गर्दा ट्रकको भित्री भागमा ‘फल्स बटम’ रहेको देख्यो । त्यसपश्चात अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी त्यही ट्रकबाट लागुऔषध गाँजा बरामद ग¥यो,जसबाट पर्दाफास भयो मकै लोडवाला ट्रकको भित्री कहानी ।

प्रहरी स्रोतका अनुसार अन्य माध्यमबाट लागुऔषध गाँजाको ओसारपसारमा कडाइ हुन थालेपछि तस्करहरुले नयाँ माध्यम चयन गरेका छन् । त्यो ‘रुट’मा साथ दिएको छ आइसिपीबाट आवतजावत गरिरहेको भारतीय ट्रकहरले । ती ट्रक आइसिपीबाट सबै प्रक्रिया पूरा गरेर निस्किसकेपछि शंका लागेको बाहेकका ट्रकलाई खासै चेकजाँच गरिदैन् ।

आइसिपीबाटै चेकजाँचको सबै प्रक्रिया पूरा गरेर नै ती ट्रकहरु प्रवेश पाएका हुन्छन् । अनि– भारत फर्किदा त झनै ‘एग्जिट’ गर्न उनीहरुलाई सजिलो हुन्छ आइसिपीबाटै । त्यसकारण निस्फिक्री आवतजावत गर्ने भएपछि यही मौकाको फाइदा उठाउँदै गाँजा तस्करहरुले व्यापक परिणाममा भारततर्फ लागुऔषध गाँजाको तस्करी गरिरहेको स्रोतको दाबी छ ।

किनकी, मकै लोड गरेर नेपाल आउने यही एउटा ट्रक मात्रै छैन, अन्य थुप्रै छन् । यो ट्रक पक्राउ परेको ठीक एक दिन अगाडि बीरगन्जबाट पनि मकै लोड भएको अर्को ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । अर्थात् सशस्त्र प्रहरी बल पर्साले एउटै नम्बर प्लेट भएका २ वटा भारतीय ट्रक आइसिपीबाटै पक्राउ ग¥यो ।

जसमध्ये एउटा ट्रकमा मकै लोड थियो भने अर्को खाली अवस्थामा थियो । पक्राउ परेका ती २ वटै ट्रकलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

सुरक्षा फितलो

एउटै नम्बर प्लेट भएका २ वटा भारतीय ट्रक र मकवानपुरबाट गाँजासहित मकैवाला ट्रक पक्राउ पर्नु सामान्य विषय होइन् । जानकारहरु भन्छन्– सुरक्षाको दृष्टिकोणले एकदम गम्भीर विषय हो ।

एउटै नम्बर प्लेट भएका २ वटा गाडी कसरी नेपाल प्रवेश पायो गम्भीर प्रश्न मात्रै खडा गरेको छैन, के गर्दैछ नेपाल प्रहरी भन्ने प्रश्न पनि उब्जाइदिएको छ । किनकी अपराधिक गतिविधि रोकथामका लागि प्रहरीले सूचना संकलन गर्ने एउटा बेग्लै ब्रान्च राखेको हुन्छ जसको खास काम नै हो– हुन सक्ने अपराधबारे सूचना संकलन गर्नु ।

जसलाई आम भाषामा ‘क्राइम ब्रान्च’ भनिन्छ । यही क्राइम ब्रान्चको टोलीले हुण्डि, सीमाक्षेत्रमा हुने अवैध व्यापार, नक्कली नोटको कारोवार, फौजदारी कसूरका अपराध, लागुऔषधका तस्कर, शंकास्पद व्यक्तिसहित हरेक कुराको निगरानी गरेसंगै नियन्त्रणमा पनि लिने गर्छ । हो,यही प्रश्न उठेको छ– कहा थियो पर्साको क्राइम ब्रान्च जसले थाहै पाएन आइसिपीमा रहेको बेवारिसे खाली ट्रकबारे ।

स्रोतका अनुसार सशस्त्र प्रहरीले पक्राउ गरेको खाली ट्रक बेवारिसे अवस्थामा थियो आइसिपीमा । त्यसकारण यसरी बेवारिसे अवस्थामा रहेको ट्रकबारे पनि सूचना नहुँदा पर्सा प्रहरीको कमजोर सुरक्षा व्यवस्थाको प्रदर्शन भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

उनीहरु भन्छन्– अथवा सबैको मिलोमतोमा अवैध लागुऔषधको कारोबार भइरहेको बुझिन्छ । नत्रभने यसरी तस्करी हुनु सम्भव नभएको उनीहरुको ठोकुवा छ ।

तर पर्सा प्रहरीले भने सुरक्षा व्यवस्था फितलो नभएको जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुमारविक्रम थापाले पर्सामा सुरक्षा व्यवस्था कुनै पनि हिसाबले कमजोर नरहेको जनाए । बरु पहिला भन्दा झन सुरक्षा व्यवस्था मजबुत भएको उनले प्रतिक्रिया दिए ।


सम्बन्धित समाचार