Logo

२ असोज,वीरगञ्ज ।सरकारले दिँदै आएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभीपी खोप अभियान वीरगञ्जमा असफल भएको छ ।
खोपबारे लक्षित उमेरसमूहका किशोरीहरुलाई जानकारी नभएपछि खोप अभियान प्रभावकारी नभएको अस्पतालको ठम्याइ ।

अपेक्षाकृत खोप लगाउने किशोरीहरु नआएपछि यो अभियान नै प्रभावित बनेको छ । सरकारले देशभरि नै २७ भदौंदेखि यो अभियानको थालनी गरेको हुँदा बीरगन्जमा पनि त्यही मितिदेखि खोप अभियान चलाउन थालिएको हो ।

तर अपेक्षा अनुसार खोप लगाउन किशोरीहरु नआएपछि दोस्रो पटकका लागि पुनः वीरगञ्ज नारायणी अस्पतालले म्याद थप गरेको छ ।
अस्पतालले सूचना जारी गर्दै भनेको छ– ‘एचपीभी खोप २७ गतेदेखि दिइदैछ, बीचमा धेरै विदा प¥यो । त्यसकारण लक्षित समूह खोपबाट बञ्चित हुने देखिएकाले पुनः ४ र ५ असोजसम्म खोप लगाउने म्याद थपिएको छ।’

अर्थात् खोप लिनको लागि पुनः २ दिनको म्याद थपिएको छ । नारायणी अस्पतालबाट अहिलेसम्म १८७ जना किशोरीहरुले एचपीभी खोप लिएका छन् ।

पाठेघरको मुखको क्यान्सरको समस्यामा वीरगञ्जसहित मधेश प्रदेश पनि विकराल रहेका कारण किशोरीहरुलाई बचाउँनका लागि वीरगञ्जमा यो खोप दिन लागिएको चिक्तिसकहरु बताउँछन् ।

यसमा कुन उमेरसमूहका किशोरीहरु पर्छन् ?
नेपालसंग एचपीभी खोपको मात्रा सीमित छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा नेपालमा २० हजार मात्रामा खोप ल्याइएको छ । प्राराम्भिक चरणमा ७ वटै प्रदेशबाट निश्चित उमेरसमूहकालाई दिएर यसको थालनी गरिएको छ ।

त्यसकारण १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । अहिलेको प्राराभिम चरणमा उनीहरुनै यसको लक्षित समूह भएको वीरगञ्ज नारायणी अस्पतालको भनाइ छ ।
किन प्रभावित ?
महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप दिन लागिएको हो। तर यसबारे जनमानसमा सूचना नभएर लक्षित समूह खोप लिन आउन नमानिरहेको बीरगन्ज नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चितरञ्जन साहको तर्क छ ।

उनी भन्छन्,‘यो खोप एकदम किशोरीहरुलाई चाहिने खोप हो,अझ सरकारले त झन निःशुल्करुपमा दिइरहेको छ । लगाउन आउनेपर्ने हो तर सर्वसाधारणलाई यसको प्रभावकारिताबारे जानकारी नभएकाले खोप अभियान प्रभावित बनेको हो ।’ मुख्यतः फाइदा÷बेफाइदाबारे आम नागरिकलाई जानकारी नभएपछि खोप अभियान सफल हुन नसकेको मेसु साहको बुझाइ छ।
के छ असर ?
एचपीभपी खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ । यो चीनमा उत्पादित केकोलिन नामक खोपको हो । यो खोप दुई मात्रा दिनुपर्छ ।

त्यसकारण यसको असर नरहेको वीरगञ्ज नारायणी अस्पतालका मेसु साहको दाबी छ ।
डब्ल्यूएचओले सन् २०३० सम्म न्यून आय भएका मुलुकहरूमा एचपीभी खोपको पहुँच ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ, त्यसअनुरुप नै नेपाल सरकारले आगामी वर्षबाट नै विश्वसंस्थाहरूको सहयोगमा पर्याप्त मात्रामा व्यवस्था गरेर नियमित अभियान चलाउन तयारी गरेको छ ।

कहाँकहाँका किशोरीहरुले लिन पाउँछन् ?
एचपीभी खोप अभियान हो । त्यसकारण प्राराम्भिक चरणमा यो÷त्यो जिल्ला छुट्टयाइएको छैन् । नेपाली नागरिक भएका लक्षित उमेरसमूहका किशोरीहरु नारायणी अस्पतालमा सम्पर्क गरेर खोप लिन सक्ने व्यवस्था रहेको असप्तालले जनाएको छ ।

अस्पतालका मेसु साह भन्छन्,‘हामीसंग अहिले १५ सय मात्रामा खोपछ, जुन पर्याप्त मात्रा हो । त्यसकारण लिन चाहने किशोरीहरुले तोकिएको मितिमा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गरे हुन्छ ।’
के हो एचपीभी ?
ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो, जसमा बाहिरी ’खोल’ हुँदैन । त्यसकारण यसले शरीरका भित्री अंगको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ ।

यो भाइरस एक प्रकारको छैन, १०० भन्दा बढी प्रकार छन् । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन तर कुनै कुनैले भने शरीरमा ’मुसा’ उत्पन्न गराउँछ ।

यस्तो मुसा हात, खुट्टा, जननेन्द्रिय वा मुखको भित्री भागमा देखा पर्न सक्छन् । अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन्, जसकाकारण शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरसले सखाप पारिदिन्छ । तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सर समेत हुन सक्छ ।


सम्बन्धित समाचार