Logo

२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको छपकैयाँमा एक जना युवाको अर्धनग्न अवस्थामा फेला परेको शव रहस्मयी बनेको छ ।

छपकैयाँमा रहेको रक्त संचार (ब्लड बैंक) को पछाडिको गल्लीको सडकमा बेवारिसे अवस्थामा फेला परेको शवबारे बिभिन्न खाले अड्कलबाजी सुरु छ । आत्महत्या कि हत्या भन्दै चियो चर्चो भइरहेको छ ।

बिहान शव देखेपछि स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले शव उद्धार गरेको हो । फेला परेको शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ३० वर्षीय युवकको शवलाई भने पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

किन रहस्मयी ?
अचानक फेला परेको शव बारे प्रहरीको थरीथरीको प्रतिक्रिया आइरहेको छ । कारण– त्यसबारे ठोस प्रमाण वा अनुसन्धान नभएको हुँदा पर्सा प्रहरीले ‘रेडीमेट’ जवाफ दिइरहेकोछ, जुन हो माद्यक पदार्थ सेवनको ।

अर्थात् माद्यक पदार्थ सेवनले ती अपरिचित व्यक्तिको मृत्यु भएको प्रहरीले ‘रेडिमेट’ जवाफ दिइरहेको छ जसमा कुनै आधार वा तथ्य छैन ।
यो शवले प्रहरीको अनुसन्धानमाथि शंका मात्रै उब्जाएको छैन, प्रश्न पनि खडा गरेको छ ।

किनकी प्रहरीले थरिथरिका प्रतिक्रिया दिएर घटना प्रहरीकै लापरबाहीबाट भएको हो भन्ने प्रश्नबाट जोगिन् खोजिरहेको देखिन्छ । किनकी आत्महत्या गर्दा मान्छे छटपटाएको,लडेको अवस्थामा रहन्छ,जुन यहाँ भएको छैन् ।

स्थानीयका अनुसार बरामद शव शौचालयमा कसैले ल्याएर अड्काएको जस्तो देखिएको छ । त्यसकारण शवको रहस्यमाथि गम्भीर प्रश्न उठेको छ ।
कसरी प्रहरीको लापरबाही ?
नेपाल प्रहरीको अपराधीलाई समाउने मात्रै काम होइन, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित रही स्वच्छ प्रहरी सेवा दिनु पनि हो ।

सरल भाषमा यसको मतलब हो जनाताको जीउधनको रक्षा गर्नु, सुरक्षा प्रदान गर्नु हो । यहाँ त्यही नभएको देखिन्छ । किनकी, जहाँबाट शव फेला परेको छ त्यो ठाउँ मुख्य सडकबाट अन्दाजी १५ मिटर मात्रै भित्र छ, जो मुख्य सडकबाट सजिलै देख्न सकिन्छ ।

तर यो नदेख्ने प्रहरीको गस्ती टोली, मोबाइल टोली कहाँ थियो यहाँ नै प्रहरीमाथि गम्भीर सवाल उठेको छ ।
प्रश्न यहीसम्म सीमित रहँदैन, घटनास्थलको छेउम प्रहरी ‘बीट’ छ ।

करिब १०० मिटरको दूरीमा पर्छ यो बीट । हो, त्यही आएर मान्छेले आत्महत्या गर्दा नजिकै रहेको प्रहरी बिटले के गर्दै थियो भन्ने सवाल खडा गरेको छ । माद्यक पदार्थ सेवन गरेर प्रहरी नजिकै आएर आत्महत्या गर्दा पनि कसरी त्यसको मेसो पाएन यो प्रश्न गम्भीर छ ।

त्यतिमात्र होइन,साच्चिकै आत्महत्या नै हो भने मृतकले लगाएको अन्य कपडा कहाँ छ यो प्रश्न संवेदनशील छ । किनकी,प्रहरीसंग कपडाको बारेमा सोध्दा मृतकको नजिकबाट कुनै कपडा फेला नपरेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाको प्रतिक्रिया छ ।

यसको सथौ प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने मृतको अनुहारमा चोट लागेको र रगत जामेको पाइएको छ । फलतः यी दुइवटा तथ्यले नै फेला परेको शव आत्महत्या नभइ हत्या भएको पुष्टि गरेको सुरक्षा मामिलाका जानकारहरुको तर्क छ ।


सम्बन्धित समाचार