Logo

३ असोज, वीरगञ्ज । आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

आज विहान काठमाडौंको टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।

संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ। नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङ थिए। हालै उनको निधन भएको छ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमुल परिवर्तन गर्ने अभियानमा रहेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै ‍प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका हुन्।

‘संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो,’ शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

उनले राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले दस वर्षे जनयुद्ध, २०६२र०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम् आन्दोलनको योगफलको रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको बताएका छन्।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उनले बताए।

‘संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्।


सम्बन्धित समाचार