Logo

४ असोज,काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता विना निष्कर्ष सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा सकारात्मक छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको शिक्षक नेताहरुले जनाएका छन्।

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई र शिक्षा सचिव सुरेश अधिकारी लगायत सहभागी थिए। यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए।

छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएको उल्लेख गर्दै समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका थिए। शिक्षकहरूको जायज माग सम्बोधनका लागि पहल गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले व्यक्त गरे।
छलफलमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत बोलाइएको थियो। शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले शान्ति–सुरक्षा व्यवस्थापनको विषयमा छलफल गर्न प्रजिअ बस्नेतलाई बोलाइएको थियो।

शिक्षकहरुको आन्दोलनका कारण हुनसक्ने सम्भावित सुरक्षा चुनौती, जनजीवन र सवारी व्यवस्थापनमा पर्ने प्रभावबारे प्रजिअ बस्नेतले जानकारी गराएका थिए। बैठकमा सहमति नजुटे पनि गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण र जनजीवन तथा सवारी आवागमन सहज हुने गरी आन्दोलन गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए।

बिहीबारको छलफल सकारात्मक भएको भन्दै छिट्टै पुनः छलफल गर्ने गरी दुवै पक्ष उठेका थिए। बिहीबार बिहान ८ बजेदेखि ९ बजेसम्म गृह मन्त्रालयमा वार्ता भएको थियो।


सम्बन्धित समाचार