Logo

५ असोज,पर्सागढी। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डोरप्रसाद अर्याल पर्साको पर्सागढी आउनुभएको छ । रास्वपा उपसभापति अर्याल मधेशी जनताको गुनासो सुन्न पर्सागढी आउनुभएको हो ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार मधेसमा बस्ने सम्पूर्ण नागरिकहरुको अपेक्षा बुझ्न उहाँ यहाँ आउनुभएको हो । सो क्रममा सांसद अर्यालले पर्सागढिको वडा नं. ३ को बडनिहार, झाब्राहा, वडा नं. ४ को बर्वाटाँडी, वडा नं. ५ को बौहर्वा चौकमा स्थानियको गुनासो सुन्नु भएको छ ।

अधिकांसले रास्वपा संघियताको विरोधी भए/नभएको, मिसन ८४ मा स्वतन्त्र पार्टीले प्रदेशमा उम्मेदवारी दिने÷नदिने, युवाहरुको लागि स्वदेशमा रोजगारीको व्यवस्थापन हुन्छ/हुन्न, मुलुकमा भ्रष्टाचार तथा बेथितिको अन्त्य कहिले हुने लगायतको प्रश्न राखेका थिए ।

प्रश्नहरुको जवाफ दिँदै सांसद अर्यालले रास्वपा संघियताको बिरोधी नभएको उल्लेख गर्नुभयो । उहाँले बलिदानीबाट प्राप्त भएको संघियताले देशको अर्थतन्त्र धान्न नसकेको कारण यसको संरचना परिवर्तन गर्ने विषयमा पार्टीको चासो रहेको बताउनुभयो ।

सांसद अर्यालले आगामी २०८४ को चुनावमा हरेक प्रदेशमा रास्वपाले उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो । त्यस्तै उहाँका अनुसार हरेक युवालाई सिपमूलक तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्न रास्वपा तयार छ । साथै उहाँले भ्रष्टाचारको प्रमुख शत्रु स्वतन्त्र पार्टी भएकाले यसलाई जरैबाट उखेलेर फाल्ने बताउनुभयो ।

कार्यक्रममा स्वतन्त्र पार्टीका प्रदेश कमिटि सदस्य समिर अन्सारी, पर्सा जिल्ला उपसंयोजक तुलसा अधिकारी, क्षेत्रीय उपसभापति शान्ती पौडेल, पर्सागढि नगर कमिटिका उपसभापति जोखु मियाँ, स्वतन्त्र पार्टीका युवा नेता डाक्टर चन्द्रभुषण सिंह, बिक्रम कार्की लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार