Logo

५ असोज,वीरगञ्ज । नेपाली कांग्रेस पर्सामा विवाद चुलिएको छ । पार्टी सभापति देउवा पक्षकै नेताहरुबीच मनमुटाव भएपछि भुसमा लागेको आगो झै पार्टीभित्र विवादको आगो दन्किएको छ ।

पार्टी सभापतिको चुनाव ताका एकै ठाउँमा उभिएका देउवा समूहका नेताहरुबीच नै अहिले फाँटो आएको देख्न सकिन्छ, जुन पुष्टि गर्न कति उदाहरण छन् ।

तर त्यसभन्दा अगाडि जिल्लाको चुनाव हुँदा को नेता कता थिए त्यो जानौं ।

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्धन सिंह क्षेत्री विजयी भएको झण्डै २ वर्ष पुग्न लाग्यो । ०७८ सालको फागुन महिनामा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर सभापतिमा विजयी भएका थिए ।

शेखर कोइराला समूहबाट उनको प्रतिद्वन्द्वीमा श्याम पटेल सभापतिमा लँडेका थिए । जिल्ला सभापतिको यो चुनाव हुँदा पार्टी सभापति देउवाको प्यानलको उम्मेदवार भनेर उठेका क्षेत्रीलाई त्यति बेला कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश रिजाल,अजयकुमार चौरसिया,पूर्व सांसद सुरेन्द्र चौधरीसहितका नेताहरुको समर्थन थियो भने पटेललाई कोइराला समूहका अजयकुमार द्विवदी र राजेन्द्रबहादुर अमात्यको मात्रै समर्थन थियो ।

पर्सा जिल्लामा देउवा पक्ष बलियो रहेको हुँदा त्यसको फलस्वरुप सभापतिमा विजयी भए क्षेत्री । तर यो ‘मोहब्बत’को शिलशिला लामो समयसम्म टिक्न सकेन । २ वर्ष नपुग्दै देउवा टीममा परेको गहिरो लभ ‘चक्नाचुर’ भयो । अर्थात् एकै समूहमा रहेकाहरु अहिले २ वटा टीममा बाँडिएका छन् ।

यी २ घटना, जसबाट भयो विवादको बीजारोपण
यसको ज्वलन्त उदाहरणको रुपमा अहिले भर्खरै भएको मुस्लिम संघको चुनावलाई लिन सकिन्छ । नेपाली कांग्रेसका भातृसंगठन पर्सा मुस्लिम संघको चुनावी अधिवेशन यही १६ भदौंमा भयो ।

पार्टी चलिएको विवादको छनक अधिवेशन शत्रमै देखियो । तर त्यसको बाबजुद पनि उद्घाटन शत्र सम्पन्न भयो । त्यसपश्चात बन्द शत्रका लागि तयारी हुन थालयो । यहीबाट सुरु भयो– आपसी द्वन्द्व । सस्थापन पक्षका अजय चौरसिया र सुरेन्द्र चौधरीको समूह एउटा कित्तामा उभ्यिो भने त्यसको विपक्षमा रमेश रिजाल, सभापति क्षेत्रीको समूह खडा भयो ।

कांग्रेस केन्द्रीय सदस्य चौरसिया समूहले आन्तरिकरुपमा संघको अध्यक्षमा जाकिर अंसारीलाई अगाडि सा¥यो भने अर्का केन्द्रीय सदस्य रमेश रिजालको समूहले हबिब मियाँ नेटुवालाई खडा ग¥यो,जसकारण आपसी सहमति जुट्न सकेन । फलतः विवाद भयो । अनि त्यहाँ रहेका रिजाल समूहले आफ्नो पक्षमा निर्णय गर्दै आफू खडा गरेको ब्यक्तिलाई अध्यक्षमा घोषणा गर्‍यो ।

यो एउटा घटना मात्रै छैन,अर्को घटनाको रुपमा बिन्द्धवासिनी वन व्यवस्थापन समितिको अधिवेशनलाई लिन सकिन्छ । यो चुनावमा पनि यी २वटै समूहले आफ्नो बेग्लाबेग्लै उम्मेदवार खडा गर्‍यो । यहाँ पनि रिजाल समूहले आफ्नो तर्फबाट मनोज यादवलाई खडा ग¥यो भने चौरसिया समूहले रिजवान अंसारीलाई सार्‍यो । तर यो चुनाव अदालतको आदेशले स्थगित हुन गयो ।

नयाँ समीकरण

यी विवादले अहिले पुरै कांग्रेसलाई नै दुई कित्ता मात्रै उभ्याएको छैन,नयाँ समीकरण नै खडा गरिदिएको छ । पर्सामा बलियो रहेका संस्थापन पक्ष २ ध्रुवमा विभाजित भएपछि ती दुबै समूहलाई अहिले साथ दिइरहेको छ–कोइराला समूहले ।

कोइराला समूहमा रहेका अजय द्विवेदी (जो अहिले कारबाहीमा छन्) र राजेन्द्र बहादुर अमात्य आन्तरिकरुपमा अहिले विभाजित बनेका छन् । स्रोतका अनुसार यसमध्ये द्विवेदीले चौरसियालाई साथ दिइरहेका छन् भने अमात्यले रिजाललाई ।

यो कुराको पुष्टि स्थगित भएको वनको चुनावबाट भएको कांग्रेसवृतमा चर्चा छ । यो चुनावमा चौरसिया पक्षका उम्मेदवार अन्सारीलाई द्विवेदीले पनि मौन समर्थन गरेका थिए भने रिजाल समूहका उम्मेदवार यादवलाई अमात्य समूहले समर्थन जनाएको थियो ।

त्यसपछि कांग्रेस पर्सामा अहिले नयाँ समीकरण बनेको छ । एउटा हो, रिजाल,रुंग्टा र क्षेत्रीको भने दोस्रो हो चौरसिया,चौधरी र द्विवेदीको । पर्सा कांग्रेसमा अहिले यही समीकरण खडा भएको स्रोत बताउँछ ।

तर पार्टी सभापति क्षेत्रीले भने कांग्रेस पर्सामा कुनै विवाद नरहेको बताए । उनका अनुसार हामी सबै एकै ठाउँमा छौ । उनले भने,‘पार्टीमा न गुट छ, न उपगुट छ । सबै एक ढिक्का छौं । त्यसकारण यो आरोपमा कुनै दम छैन।’


सम्बन्धित समाचार