Logo

७ असोज, वीरगंज। अभिनेता अनमोल केसीको धेरै फिल्म छाड्ने अभिनेताको सूचीमा उनको नाम शीर्ष स्थानमा आउँछ । सम्झौता गरेको फिल्म छाड्नु अभिनेता अनमोल केसीका लागि बायाँ हातको खेल हो । यो मामलामा उनी सबैभन्दा अनुभवी छन् । हतारमा फिल्म सम्झौता गर्ने अनमोलको बानी हो ।

वनलाइन स्टोरी सुनेकै भरमा उनी काम गर्न राजी हुन्छन् । साइनिङ एमाउन्ट पनि बुझिहाल्छन् । जब फाइनल स्क्रिप्ट हातमा पर्छ तब उनलाई चित्त बुझ्दैन अनि अलग भैहाल्छन् । कुनै फिल्म उनले मेकरले हतारमा छायांकनको दबाब दिँदा पनि छाडेका छन् । यी कुराले उनीप्रति मेकरको विश्वास विस्तारै डगमगाउँदै गएको छ ।

स्क्रिप्ट र चरित्रमा पूर्ण सहमत नभएसम्म र त्यसका लागि आफू तयार नभएसम्म फिल्ममा काम नगर्नु राम्रो पक्ष हो । यत्तिको अडान कलाकारमा हुनुपर्छ । तर, अनमोलले साइन गर्दै छाडेका फिल्मको सूची हेर्दा दोष मेकरलाई मात्र दिने आधार पनि देखिन्न । उनकै निर्णय क्षमतामाथि प्रश्न उठ्छ । ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धुपौरे’, ‘हनी बनी’, ‘एक्स ९’ र पूजा शर्माको फिल्म उनले सम्झौता गरेर छाडेका फिल्म हुन् र प्रायः फिल्म उनले स्क्रिप्ट चित्त नबुझेरै छाडेका छन् । उनको फिल्म छाड्ने श्रृंखलामा अब सुदर्शन थापाको ‘रावायण’ पनि थपिन सक्ने चर्चा भैरहेको छ ।

उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै अब स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म नगर्ने र कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने बताएका छन् । उनको यो स्टाटस ‘रावायण’ मेकरप्रति लक्षित रहेको आँकलन धेरैले गरेका छन् । निकट स्रोतका अनुसार, उनलाई फिल्मको स्क्रिप्ट चित्त बुझिसकेको छैन । तर, निर्देशक थापा भने असोज १३ गतेदेखि छायांकन थाल्ने तयारीमा लागिसकेका छन् ।

‘रावायण’मा अनमोलको दोहोरो भूमिका हुनेछ । त्यसमध्ये एउटा भूमिका नकारात्मक छ । यसका लागि पूर्वतयारी गर्न उनले समय मागेको र स्क्रिप्टमा अझै मिहिनेत गर्न लेखक र निर्देशकलाई आग्रह गरेको बताइन्छ । अघिल्लो हप्ता मात्र नगरकोटमा स्क्रिप्टमाथि दुई प्रमुख कलाकारहरु (अनमोल र नीति शाह)सँग छलफल भएको थियो । त्यहाँ अनमोल पिता भुवन केसी समेत सहभागी थिए ।

चरित्र निर्माणका लागि पर्याप्त समय नदिए र स्क्रिप्टमा अझै मिहेनत नगरे अनमोल ‘रावायण’मा काम नगर्ने मनस्थितिमा पुगिसकेको निकट स्रोतको दाबी छ । अहिले उनी र फिल्मको टिमबीच सम्पर्कविहीनको अवस्था रहेको बताइएको छ । अनमोलसँग सम्पर्क नै नभएपछि फिल्मको टिमले उनलाई असोज १३ गते सुटिङका लागि तयार रहन सन्देश पठाइसकेको स्रोतले जानकारी दिएको छ ।

फिल्मको टिमबाट निरन्तर दबाब आएपछि अनमोलले शनिबार स्टाटस लेख्न बाध्य भएको बताइन्छ । रोचक कुरा के छ भने उनले अहिलेसम्म यो फिल्म कागजी सम्झौता गरिसकेका छैनन् । तर, अर्को ‘सरप्राइज’ के छ भने उनले फिल्ममा काम गर्ने वाचा गरेर तस्विर खिचाउँदै निर्माताबाट ‘साइनिङ एमाउन्ट’स्वरुप चेक लिइसकेका छन् । यहाँ विश्वासको भरमा काम अघि बढेको देखिन्छ ।

अनमोलले स्टाटसमा आफ्नो प्रोजेक्टहरु आधिकारिक पेजबाट घोषणा नहुँदासम्म त्यसलाई सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् । आफ्नो पेजबाट घोषणा भएको फिल्म मात्र आधिकारिक हुने उनको आशय हो । गत वर्ष ‘छड्के २’ प्रदर्शन भएयता उनले सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्म ‘फर्की फर्की’को मात्र जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत् गराएका छन्, ‘रावायण’को छैन ।

उनले स्टाटसबाटै सांकेतिक रुपमा ‘रावायण’मा आफू आबद्ध नभैसकेको दाबी गरेका छन् । तर, चेक बुझिसकेकाले नाम उल्लेख गर्न भने उनले सकेका छैनन् । अब अनमोलले आगामी फूलपातीबाट ‘फर्की फर्की’को छायांकनका लागि समय दिएको जानकारी प्राप्त छ । ‘रावायण’ टिम अब कसरी अगाडि बढ्छ भन्ने चासो सुरु भएको छ । यो विषयले ठूलो रुप लिन सक्ने चर्चा भैरहेको छ ।


सम्बन्धित समाचार