Logo

८असोज,वीरगञ्ज । वीरगञ्ज १३ की ४० वर्षीय सुशिला मण्डल रक्तसञ्चार केन्द्र वीरगञ्ज ‘ब्लड बैंक’ मा लाइनमा उभिइरहेकी थिइन् । जहाँ उनी निकै तनाव मुद्रामा देखिन्थिन् ।

आफ्नो पालो कुरेर बसिरहेकी थिइन् । किनकी,उनको बच्चालाई खाँचो थियो–एक यूनिट रगतको ।
त्यही एक यूनिट रगतका लागि उनी आफ्नो पालोको व्यग्र प्रतिक्षामा थिइन । छिटो पालो आइदिए हुन्थ्यो भन्ने मनमा लागेपनि पालो कुर्नुको विकल्प उनीसँग थिएन ।

थालेसिमिया नामक गम्भीर प्रकृतिको रोग उनको ५ वर्षीया छोरालाई लागेको छ । यो रोगमा रगत चढाउनुपर्ने भएकोले रक्तसञ्चार केन्द्रमा हरेक महिना पुग्नुपर्ने उनको तालिका झै बनेको छ ।

रगत लिन लाइनमा बस्नेहरुको भीडको बीचमा उनी निकै मलिन अनुहारमा छोराको जीवन बचाउने संघर्षका साथ उभिइरहेकी हुन्छिन् ।उनमा कतिखेर पालो आउछ ? र रगत लिएर छोराको जीवन पुनः एक महिना बचाऊँ भन्ने छटपटी देखिन्थ्यो । कारण– एकपटक रगत चढाएपछि अर्को ३० दिनसम्म छोरा केही नहुने चिकित्सकहरुको सुझाव जो छ ।

यही आसामा साँस दिएर ९ महिनासम्म कोखँमा राखेकी आमाले पुनः रगतको व्यवस्थापन गरेर छोरोलाई सास भर्ने काम गरिरहेकी छन् । जसबाट उनलाई लाग्दछ– एक दिन पक्कै छोरो स्वस्थ हुन्छ र मेरो सब थकान मेटिन्छ ।

यो सब सुनाइरहँदा मण्डलको अनुहार रातो मात्रै भएको थिएन गहभरि आँसु छल्किरहेको थियो । आँखाबाट आँसु झर्नमात्रै बाँकी रहँदा रगत लिने पालो उनको आइपुग्यो अनि खुसी हुँदै रगत लिएर गइन ।

मण्डल जस्तै बाराको राजघाट निवासी श्याम चौधरीको पनि समस्या उस्तै छ । उनी आफ्नो छोराको लागी रक्तसञ्चार केन्द्रमा गरहन्छन् । निमुनियाले ग्रसित छोराको उपचारका लागि रगत चाहिने भएकाले उनीहरु रक्तसञ्चार केन्द्रमा पुगिरहनुपर्ने सुनाउँछन् ।

रगतका लागि वीरगञ्जकी मण्डल र बाराको चौधरी मात्रै होइन अरु पनि पुग्छन् । यो संख्या धेरै लामै छ । ब्लड बैंकका अनुसार दैनिक ७० जनाको हाराहारीमा रगत खपत हुन्छ। अर्थात् ७० जनाको अनुपतामा ब्लड बैंकबाट हरेकदिन रगत जान्छ ।

ब्लड बैंकबाट पछिल्ला ९ वर्षमा मात्रै १ लाख भन्दा बढीलाई रगत दिइएको छ । अर्थात् १ लाख जनको ‘सास’मा सास भर्ने कार्य भएको छ ।
आर्थिक वर्ष ०७१÷०७२ देखि ०७९÷०८० सम्मको तथ्यांक हेर्ने हो भने बीरगन्ज ब्लड बैंकबाट १ लाख ४ हजार ४२२ जनाले रगत लिएका छन् । यो तथ्यांकमा रगत लिनेहरुको संख्या हरेक वर्ष बढ्दो ग्राफमा छ ।

रेडक्रस पर्साले दिएको तथ्यांकअनुसार पर्साबाट आव ०७१/०७२ मा ७१६९, ०७२ /०७३ मा६९४४, ०७३ /०७४ मा ८९०९, ०७४ /०७५ मा ११२०४, ०७५ /०७६ मा १११०९, ०७६ /०७७ मा ११६०६, ०७७ /०७८ मा ११३८५, ०७८ /०७९ मा १६९८८, र ०७९ /०८० मा १९१०८ जनालाई रगत वितरण गरिएको रेडक्रस पर्साका सभापति बिरेन्द्रराज कँडेलले बताउँछन् । उनका अनुसार पछिल्ला समय हरेक वर्ष रगत लिनको संख्या बढ्दोतरी हुँदै गइरहेको तथ्यांकबाट देखिन्छ ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले वीरगञ्जमा गर्मीको समयमा अत्याधिक रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार नगरमा अहिले दिनँहु ७०–९० युनिट रगत खपत हुने गरेको छ ।

रगत दिने भन्दा लिनेको संख्या बढी
वीरगञ्ज ब्लड बैंकले उपलब्ध गराएको तथ्यांकमा रगत दिनेको संख्या भन्दा बढी लिनेहरुको रहको पाइएको छ । ब्लड बैंकको ९ वर्षे तथ्यांकलाई केलाएर हेर्दा रगत दिनेहरुको भन्दा लिनेहरु बढी रहेका छन् ।

वीरगञ्ज ब्लड बैंकबाट ९ वर्षमा १ लाख ४ हजार ४२२ जनाले रगत लिएका छन भने यही अवधिमा रगतदान गर्नेहरुको संख्या कुल ९४१२८ जनाको मात्रै रहेको छ ।

अर्थात् यहाँ लिने भन्दा रगत दिनेहरुको संख्यामा कमी रहेको प्रष्टै देखिन्छ । त्यो पनि कम संख्यामा होइन १०२९४ जना कमले रगत दिएको तथ्यांक देखिन्छ । त्यसका बाबजुद पनि ब्लड बैंकले स्रोत साधन, प्रविधि र जनशक्तिले भ्याएसम्म सेवाग्राहीलाई रगत उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

किन ‘ब्लड’ बैंक नै ?
उनीजस्तै धेरैलाई आफन्तको जीवन बचाउनका लागि रगत लिन लाईनमा लाग्नेहरुको ताँती वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ मा देख्न सकिन्छ ।

विरामीलाई रगत आवश्यकता पर्दा अस्पतालका चिकित्सकले आफन्तलाई ब्लड लिएर आउन भन्छन् । त्यसपछि विरामीका आफन्तजन रगतको व्यावस्थापनमा जुट्छन । त्यसको लागि जो सुकैलाई पुग्नुपर्ने हुन्छ वीरगञ्जको नारायणी अस्पतालसंगै रहेको रेडक्रस पर्साको ‘ब्लड’ बैंक शाखा ।

कारण–सबैको ‘माइन्ड’मा हुन्छ ब्लड बैंकमा पुगेपछि रगत पाइन्छ । किनकी ब्लड बैंकले रक्तदानका कार्यक्रम गरेर रगत संकलन गरेको हुन्छ । त्यसकारण नै होला यहाँ रगत लिनेहरुको ताँती रहन्छ ।

वीरगञ्ज –२ छपकैयामा नेपाल रेडक्रस सोसाइटी २०३४ सालदेखि स्थापना भएको छ । ब्लड बैंकले ४६ वर्षदेखि सेवा दिदैँ आएको भएतापनि अभिलेख भने राख्ने गरेको थिएन । ब्लड बैंकका अनुसार ०७१ सालदेखि नै अभिलेख राख्न सुरु गरिएको हो ।


सम्बन्धित समाचार