Logo

८ असोज,जनकपुर ।राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ ।
आज दिउँसो जनकपुरधाम स्थित तिरहुतिया गाछी स्थित नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन कार्यक्रमपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले राष्ट्रपति पौडेललाई भव्य समारोह बीच नागरिक अभिनन्दन गरिएको हो ।

सो क्रममा राष्ट्रपति पौडेलले प्रदेश र स्थानीय तहलाई अधिकार बाँडफाँड गरी संघीयताको मर्म अनुसार मिलाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

उनले राजनीतिक दलका शीर्षनेतृत्वलाई संघीयताको संरक्षण संवद्र्धनका लागि तत्काल अधिकार बाँडफाँड गरी जनतालाई संघीयताको अनुभुती दिलाउनका लागि पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाहेमा संघीयताको तत्कालै कार्यान्वयन हुनसक्ने उनको भनाई थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र–प्रदान गरेका थिए । देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी पोलिटव्यूरो सदस्य तथा धनुषा– ३ की प्रतिनिधिसभा सदस्य जुली महतो, पुर्वगृहमन्त्री तथा काँग्रेसका नेता विमलेन्द्र निधिलगायतकाले नागरिक अभिनन्दन गरेका थिए ।

२३ वर्ष अघि निर्मित मिथिला संस्कृति केन्द्र भवनको पनि आज नै उनले उद्घाटन गरेका छन् ।
आज विहान जनकपुरधाम आइपुगेका राष्ट्रपति पौडेलले जानकी मन्दिरमा ४० मिनेटसम्म दर्शन तथा पुजाअर्चना गरेका थिए भने मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसँग समेत भेटघाट गरेका थिए ।


सम्बन्धित समाचार