Logo

९ असोज,वीरगञ्ज । पर्सा कांग्रेसले एक क्षेत्रीय सभापतिमाथि फर्जी कारबाहीको पत्र सार्वजनिक गरेको पाइएको छ । केन्द्रीय अनुशासन समितिको हवाला दिँदै कांग्रेस पर्साले सार्वजनिक गरेको कारबाहीको पत्र फर्जी रहेको खुलासा भएको हो ।

७ असोजमा भएको केन्द्रीय समितिको बैठकमा बोल्दै अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले आफू कसैलाई पनि कारबाही नगरेको जनाएपछि पर्सा क्षेत्र नम्बर १ का सभापति गुप्तामाथि भएको कारबाही गलत रहेको उजागर भएको हो ।

१९ साउनमा केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको हस्ताक्षरमा कारबाही भएको एक पत्र सार्वजनिक गर्‍यो ।

जसमा भनिएको छ– ०७९ सालको प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीको अधिकारिक उम्मेदवारविरुद्ध काम गरेको भन्दै पत्र आएको र त्यो छानबिनको क्रममा रहेको हुँदा कांग्रेस विधान अनुसार क्षेत्रीय सभापतिको हैसियतले गर्ने कार्यहरु २० साउनदेखि ३०सम्ममा रोक लगाइएको छ । त्यसकारण भएका उपसभातिद्वयमध्ये कोही एकजनालाई जिल्ला कार्यसमितिले जिम्मेवारी दिइ पार्टी गतिविधि अगाडि बढाउँन निर्देशन दिइन्छ।’

तर यो पत्र आधिकारिक वा अनाधिकारिक हो भन्ने त्यतिबेला प्रमाणित भयो जब अनुशासन समितिको संयोज आफैले कांग्रेस केन्द्रीय समितिको बैठकमा भने,‘पार्टीबाट अहिलेसम्म कसैमाथि कारबाही भएको छैन, थुप्रैजनामाथि उजुरी परेको छ।

सबै उजुरीमाथि अनुसन्धान भइरहेकोछ, अनुसन्धान सकिएपछि सबैसंगको सल्लाहमा कारबाही अगाडि बढाइन्छ।’ उनकाअनुसार अहिलेसम्म कारबाहीका लागि १४ जनासंग मात्रै स्पष्टीकरण सोधिएको छ भने उजुरीमाथि अनुसन्धान चलिरहेको छ ।

केन्द्रीय अनुशासन समितिको संयोजक ढुंगानाको यो प्रष्टोक्तिले पर्सामा भएको कारबहीबारे अन्यौलता मात्रै बढाएको छैन, कसबाट भयो यो अपराधिक गतिविधि झनै प्रश्न उब्जाइदिएको छ । कारबाहीको बारेमा केन्द्रीय अनुशासन समिति संयोजक ढुंगानासंग सोधिएको प्रश्नमा उनले भने,‘व्यक्तिगत कारबाहीको बारेमा आफूलाई थाहा छैन, तर पार्टीले अहिलेसम्म कसैलाई कारबाही गरेको छैन।’

उनको प्रष्टोक्तिले पर्सा कांग्रेसले गरेको जाली कारबाहीको रहस्य उजागर गरिदिएको छ । किनकी, अनुशासन समितिले नै कसैलाई नगरेको प्रतिक्रिया दिएपछि जिल्ला सार्वजनिक गरेको कारबाहीको पत्र कहाँबाट आयो त्यो गम्भीर सवाल खडा भएको छ ।

अब कसलाई आधिकारिक मान्ने त्यो प्रश्न उब्जिएको छ । कारण–ढुंगानाकै हस्ताक्षरमा सार्वजनिक गरिएको कारबाही पत्रबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया छ । तर यही पत्रलाई आधार मानी जिल्ला कार्यसमितिले तत्कालै उपसभाति अनिल सिंहलाई कार्यबाहक सभापति बनाइदिएको छ ।


सम्बन्धित समाचार