९ असोज, वीरगञ्ज । सम्वन्धित निकायसँग अनुमति नलिई कलेजका नाउँमा सञ्चालन भएका ८ वटा संस्थागत माध्यामिक विद्यालय र एउटा मन्टेश्वरी स्कुललाई वीरगञ्ज महानगरपालिकाले वन्द गर्ने निर्णय गरेको छ ।
बन्द गर्ने भनिएका ८ वटा माध्यामिक विद्यालयसँग १÷१ लाख जरिवाना गर्ने निर्णय समेत भएको वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन अधिकृत आनन्द लामिछानेले बताए । मन्टेश्वरी स्कुललाई पनि एकलाख जरिवाना गरिएको छ ।
महानगरले संस्थागत विद्यालय नियमन समिति बनाएर गत भदौ १३ गते अनुगमन गर्दा ८ वटा माध्यामिक विद्यालयले अन्य विद्यालयको अनुमति पत्रका आधारमा कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको भन्दै महानगरपालिकाले शिलवन्दी गरेको थियो ।
महानगरले शिलबन्दी गरेका संस्थागत माध्यामिक विद्यालयलाई अनुगमन समितिले महानगरपालिकाको शिक्षा समितिमा कारबाहीको लागि सिफारिस गरेको थियो । समितिले सङ्घीय शिक्षा ऐन २०२८ को दफा १७ (१) क तथा महानगर शिक्षा ऐनको दफा ४१ अनुसार दण्ड, सजाय एवम् जरिबाना गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।
महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले ८ वटा माध्यामिक विद्यालय र एउटा मन्टेश्वरी स्कुललाई सञ्चालनमा रोक लगाउदै जरिवानाको निर्णय गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत लामिछानेले बताए ।
वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिले बन्द गराएका संस्थागत विद्यालयहरुमा वीरगञ्ज स्कुल अफ ल, युनिभर्सल प्लसटु कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेज रहेका छन् । त्यसैगरी विजी विज किड्स मन्टेश्वरी स्कुललाई समेत बन्द गर्ने निर्णय गरेको छ ।
शैक्षिक प्रशासन महाशाखाका अनुसार कावाहीमा परेका मध्यामिक विद्यालयलाई ११ र १२ को कक्षा सञ्चालनको अनुमति पत्र दिने ९ वटा विद्यालयलाई पनि महानगरपालिकाले ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।
आफ्नो विद्यालयमा प्लस टु सञ्चालन गर्न दिने पिस जोन एकेडेमी, ओसिस मावि, ग्रिनल्याण्ड मावि, गोल्डेन बाटिका स्कुल, ज्ञान निकेतन मावि, न्यू वेभ एकेडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ र १२ को सञ्चालनको पनि अनुमति पत्र लिएका थिए । तर आफूले कक्षा १० सम्म मात्र सञ्चालन गरेर ११ र १२ सञ्चालनको अनुमति अन्य कलेजलाई दिएका थिए ।
वीरगञ्ज सेन्ट्रल स्कुलले इजाजत प्राप्त नगरेको प्रिन्सटन कलेजलाई आफ्नो भवन र परिसर प्रयोग गर्न दिएको भन्दै वीरगञ्ज सेन्ट्रल स्कुललाई समेत ५० हजार जरिवाना गरिएको छ । वीरगञ्ज सेन्ट्रल स्कुलले ज्ञान निकेतनको अनुमतिको लाइसेन्स दुरुपयोग गरी प्रिन्सटन कलेज संचालन गर्न दिएको थियो ।
महानगरपालिकाले बन्द गरिएका संस्थागत विद्यालयलाई पुन सञ्चालनका लागि अनुमति प्रक्रिया पूरा गरेर आउन भनेको छ । बन्द गराएका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ को अनुमति लिने विद्यालयले नै पठनपाठनको व्यवस्थापन गर्नुपर्ने महानगरपालिकाको शिक्षा समितिले जनाएको छ ।
महानगरले युनिभर्सल कलेजलाई अनुमति लिएको भन्दा फरक ठाउँबाट सञ्चालन गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवन/ कोठा भाडामा दिने घर धनीलाई घर बहाल कर तिर्न लगाउने र अबदेखि अनुमति नलिएका शैक्षिक संस्थालाई घरभाडामा नदिन सचेत गराउने निर्णय गरेको छ ।