Logo

वीरगन्ज, १० असोज । श्रृङखलाबद्ध रुपमा हत्याका घटना हुन थालेपछि बारा र पर्सामा सुरक्षा चुनौती बढेको छ । केही दिन अघि पर्सामा लगातार दुई जनाको हत्या भएको घटना सेलाउन नपाउदै बाराको पचरौतामा दुई जनाको हत्या भएको छ ।

भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा अन्दाजी २२ बर्षका अजित कुमार सिंहको गएराति गोली प्रहार गरी हत्या भएको थियो । यसअघि आईतवार राति पनि बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती टोलमा अमरेश सिहको हत्या भएको थियो । उनलाई धारिलो हतियारले प्रहार गरि हत्या गरेको बारा प्रहरीले जनाएको छ ।

गएराति भएको घटनामा संलग्नहरुको पहिचान खुलेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार अजित कुमार सिंहको हत्यामा भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, सोही स्थान बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ का मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी संलग्न रहेको पाईएको छ ।

अजित कुमारसँगै दुईवटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका उनीहरु बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनिया स्थित पोखरी नजिक आईपुगेपछि एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर अनटेष्ट मोटरसाईकलमा भारततर्फ भागेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

प्रहरीले घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका समेत बरामद गरेको छ । घट्नास्थलको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पँचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको बाराका प्रहरीले जनाएको छ ।

बारा र पर्साका सीमानाकाहरुमा हत्याका घटना बढन थालेका छन् । प्रहरी चाडपर्वमा हुन सक्ने चोरी तस्करी लक्षित अभियानमा मात्र केन्द्रीत हुदाँ हत्याका घटना श्रृङखला रुपमा बढन थालेको देखिन्छ ।


सम्बन्धित समाचार