Logo

वीरगन्ज, १० असोज । ४४ ओैं विश्व पर्यटन दिवसको अवसरमा आज वीरगञ्ज नाकाबाट भित्रिएका र सिमरा एयरर्पोटमा बुद्धएयरबाट आएका पर्यटकहरुलाई स्वागत र सम्मान गरिएको छ ।

होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्ज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय वीरगन्जले वीरगन्जको शंकाराचार्य गेटमा भारतबाट घुम्न नेपाल आएका पर्यटकहरूलाई स्वागत गरेको हो ।

भारतको गोपालगञ्जबाट आएका चारजना पर्यटकहरूलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।

नेपालको अर्थतन्त्रको प्रमुख आधार मध्य पर्यटन क्षेत्र पनि एक भएपनि पर्यटन क्षेत्र अझै राज्यले उपेक्षा गरेको व्यावसायीहरूको गुनासो छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएको उनीहरूको भनाइ छ ।

स्वागतका लागि संघका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका सचिव पन्त, संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी बाराको सिमरा विमानस्थलमा काठमाडौंबाट बुद्धएयरको पहिलो फलाइटबाट सिमरा आएका यात्रुहरुलाई समेत स्वागत सम्मान गरिएको छ । सिमरा एयरपोर्टमा भएको कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र नाट्टा मधेस प्रदेश अध्यक्ष एवम् पर्यटन तथा हवाई यातायात समिति नेपाल उद्योग वाणिज्य महासघ मधेस प्रदेशका सभापति मोहन शर्माले यात्रुहरुलाई अविर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।


सम्बन्धित समाचार