Logo

१० असोज,वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बचतकर्ताहरूको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरेपछि वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित सानो पाइला सहकारीका संस्थापक, वर्तमान तथा पूर्व सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई उर्फ जीबी राई, वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीका अनुसार हालसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य फरार रहेका छन् । रम्तेललाई काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो ।

पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम पनि हिनामिना आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।

यादवलाई भने पर्सा प्रहरीले शुक्रवार पक्राउ गरेको थियो । उनलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान समेत भइरहेको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिनुभयो । अन्य फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको एसपी शाहले बताउनुभयो ।


सम्बन्धित समाचार