१० असोज, वीरगञ्ज ।वीरगञ्जमा कृषि फर्मको नाममा सहकारी सञ्चालन गरी प्रशासनकै आडमा लुट मचाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा एक कृषि फर्मको नाममा सहकारी सञ्चालन गरी बढी पैसा ठग्दै गरेको आरोपमा आधा दर्जन भन्दा बढी उजुरी परेपछि यो घटना बाहिर आएको हो ।
जिल्ल्ला प्रशासन कार्यालय पर्सामा रुपेश पटेल, सानुराज सिन्हा, दीलिप साह, राहुल बैठा, बलराम साहसहितकाले सुनिल पाण्डे र उनले सञ्चालन गरेको दुग्धेश्वरी कृषि तथा पशुपन्छी फर्म लिमिटेडमाथि मिटर ब्याजी र ठगी आशयको निवेदन दिएपछि पाण्डेको ठगी धन्धा बाहिर आएको हो ।
स्रोतका अनुसार पाण्डे र उनको कृषिफर्मको नाममा जिल्ला प्रशासन कार्यालय पर्सामा ६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको मिटरव्याजी दर्ता कितावमा ४५०, ८८८, ८९०, ५४६ र ६५९ नम्बरमा पाण्डे र उनको कृषि फर्मविरुद्ध मिटरब्याजीको उजुरी परेको छ ।
एउटै व्यक्तिमाथि यतिको उजरी पर्दा पनि प्रशासनले उनलाई कानुनी कठघेरामा उभ्याउन नसकेको पीडितहरुको गुनासो छ । पीडितहरु भन्छन्– पाण्डे त्यही प्रशासनिक आडमा गरीब जनतालाई सताउने गर्छन ।
स्रोतका अनुसार पाण्डेको यो अवैध ठगी धन्दामा प्रहरी र प्रशासनका हाकिमहरुको साथ रहेको छ । जसकारण उनको अवैध ठगी धन्दामा ब्रेक लाग्नुको साटो अझ फस्टाउँदै गइरहेको छ, जसको मारमा भुँइ मान्छे परिरहेका छन् ।
सरकारले ल्याएको मिटरब्याजी सम्बन्धी कानूनले मर्कामा परेका नागरिकको पक्षमा वकालत होला भन्ने अपेक्षा गरिएपनि स्थानीय प्रशासनबाट हुने कार्यसम्पादनले त्यस्तो अनुभूति नगरेको पीडितहरुको बुझाई छ ।
पीडकलाई कसरी प्रशासनको ओत ?
जिल्ला प्रशासन कार्यालय पर्सामा माथि लेखिएका मुद्दा नम्बरह असारमै परेको उजुरीका हुन् । पीडितहरले असारमा उजुरी दिँदा सिडिओ कार्यालयबाट ती नम्बरहरु प्राप्त भएका हुन् । पीडितहरुको आरोप छ–चार महिना अगाडि पाण्डे र उनका श्रीमती किरण पाण्डेमाथि उजुरी गर्दा पनि प्रशासनले विवाद सल्टाउनुको साटो पीडकले मागे बमोजिमको समय दिएर हामीलाई अन्याय गरिरहेको छ, पीडित रुपेश पटेलले भने “पाण्डको सुविधा अनुसार प्रशासनले समय दिन्छ यसमा हाम्रो सहमति लिइदैन ।”
कागजपत्र ल्याउने भन्दै पाण्डेले बारम्बार सिडिओ कार्यालयबाट अल्झाउने नियतले समय लिएर मुद्दा लम्ब्याउँने काम गरिरहेको उनीहरुको दुखेसो छ । त्यतिमात्र नभइ मिटर ब्याजी छलफलको हकमा सिडिओ कार्यालयले पीडित र पीडकलाई मात्रै राखेर छलफल गराउने रणनीति तय गरेको छ । तर पाण्डेको हकमा भने त्यो लागु हुँदैन । किनकी, पीडक पाण्डेले रुचाएको व्यक्तिसहितलाई राखेर पीडितसंग छलफल हुने गरेको उनीहरुको भनाई छ ।
कसरी ठगी ?
जिल्ला प्रशासन र अदालतमा परेका मुद्दाहरुमध्ये रुपेश पटेलका निवेदन घतलाग्दो छ । कारण– बैंक स्टेटमेन्टमा पटेलले पाण्डेसंग लिएको कुल रकम ८२ लाख रुपैयाँ मात्र देखिन्छ, जसमा पटेलले पनि ७७ लाख तिरिसकेका छन् । पटेलले पाण्डेसँग उक्त रकम लिएपछि ८२ लाखको चेक दिएका थिए ।
पटेलका अनुसार पाण्डेले ७७ लाख बुझेपनि आफूले दिएको ८२ लाखको चेक बाउन्स गराएका थिए । त्यही चेक बाउन्सको आरोपमा पटेल ४ महिना कारागारमा बसेर २० लाख धरौटी तिर्दै गत १३ वैशाखमा कारागारमुक्त भएका थिए ।
हो, यही घतलाग्दो कहानी के छ भने पटेल कारागारमा भएकै यही अवधिमा पाण्डेलाई दिएको एनआइसी एसिया बैंकको आफ्नो व्यक्तिगत नामको चेकमा किरण पाण्डेको नाम लेखि ९७ लाखको अर्को चेक काटिएको छ । किरण पाण्डे, सुनिल पाण्डेकी श्रीमती हुन् । उनै किरण पाण्डेको नाममा ०७९ सालको फागुन महिनाको १० गते अर्को चेक काटिएको छ, जुन बेला पटेल कारागारमै रहेका थिए ।
कारागारको पत्रमा लेखिए अनुसार पटेल १३ वैशाखमा कारागारमुक्त भएको देखिन्छन् । तर यही अवधिमा पाण्डेले अर्को चेक काटी पुनः पटेलको जग्गासमेत रोका गराइदिएका छन् । जसबाट भोजपुरीमा रहेको कहावत–‘एकेगो मुर्गी के कौ बेर हलाल ?’ यहाँ पुष्टि भइरहेको देखिन्छ । यसको अर्थ हो–एउटै कुखुरालाई कति पटक काट्ने ।
पटेल मात्रै होइनन् यस्तो फर्जी काम पाण्डेले अन्य थुप्रै व्यक्तिहरुसँग गरेको उनी विरुद्ध परेको उजुरीले समेत पुष्टि गरेको छ । तर पाण्डेले भने यो अरोप सरासर गलत रहेको प्रतिक्रिया दिएका छन् । पाण्डेले भने,‘म पीडित छु, ममाथि निवदेन दिनेहरु नै मेरो पैसा पचाउँने नियतमा छन् । त्यसकारण म होइन,उनीहरु ठगी धन्दा चलाइरहेका छन्।’
यता पर्सा सिडिओ कार्यालयले पनि पीडितहरुको यो भनाइप्रति सहमति जनाउँदै पाण्डेमाथिपरेको निवदेनमाथि कुनै पनि निर्णय नभएको जनाएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले भने, “यो निर्णय अरु कुनै कारणले नभइ, उजुरीको धेरै चाँपका कारणले मात्र रोक्या हो ।” ‘तर के हो त्यसबारेमा वास्तविकता बुझेरचाँडै पीडितहरुलाई न्याय दिने काम हुन्छ,’ लम्सालले भने ।