Logo

१० असोज, काठमाडौं । नेपाललाई ३–२ ले पराजित गर्दै भारतले साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । ट्राइब्रेकरमा नेपालले अनुकुल रहेका तीन पेनाल्टी खेर फालेपछि भारत विजयी भएको हो ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालले तीन पेनाल्टी प्रहार खेर फाल्यो भने भारतले दुई प्रहार खेर फाले पनि नतिजा ३–२ ले आफ्नो पक्षमा पार्यो ।

नेपालका लागि अश्विन घोरासैनी र कुशल देउवाले मात्र गोल गरे । प्रशान्त लक्नन र लक्षु थापाको प्रहार भारतीय गोलरक्षकले बचाए भने विक्रम तामाङले प्रहार गरेको बल आकासियो ।

भारतका लागि भने अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरे । दीनेश सिंहको बल नेपाली गोलरक्षक ग्यारेथले रोकेका थिए । यस्तै, भारतीय रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरिएको थियो ।

त्यसअघि २६औँ मिनेटमा गोल गर्दै भारतले खेलमा अग्रता लिएको थियो । ७४औँ मिनेटमा नेपालले खेलमा बराबरी गर्यो । दीपक थापा मगरको क्रसमा समिर तामाङले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

नेपालले पहिलो र दोस्रो हाफमा केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा फाइनल पुग्ने अवसरबाट बञ्चित रह्यो ।

अब उपाधिको लागि भारतले शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा ६–५ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।


सम्बन्धित समाचार