Logo

११ असोज, वीरगञ्ज । मुस्लिम समुदायले देशभर आज ‘मोहम्मद डे’ मनाएका छन् । मुस्लिम समुदायको धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा देशभरि ‘मोहम्मद डे’ मनाइएको छ ।

यही अवसरमा बीरगन्जका मुस्लिम समुदायले पनि आज मोहम्मद डे मनाएका छन । बीरगन्जको इनर्वा,छपकैयाँ, नगवा,लाठ गल्ली, मुर्ली चोक,श्रीपुरसहितका ठाउँबाट निस्किएको जुलुस नगर परिक्रमा गरेको थियो ।

मुस्लिम समुदायले राष्ट्रिय गानबाट सुरुवात जुलुस घण्टाघरबाट निस्केको थियो । त्यो क्रममा उनीहरुले नेपालको झण्डासहित इस्लाम धर्म झण्डासमेत बोकेका थिए ।

यसैबीच मधेश प्रदेश सरकारले ‘मोहम्मद डे’ आज सार्वजनिक बिदा समेत दिएको छ । मधेश प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशभरि बिदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ– ‘मुस्लिम समुदायको धर्म प्रचारक ‘पैगम्बर मोहम्मदको जन्म दिन परेको छ, यही अवसरमा असोज ११ गते सार्वजनिक विदाको निर्णय गरिएको छ ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ ।

उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् ।


सम्बन्धित समाचार