Logo

११असोज,जनकपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक न्यायका लागि सुशासनका लागि एमालेको कार्यभार मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकारबाट नै सम्भव हुने बताएका छन् ।

बिहीबार जनकपुरधाममा नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक गर्दै पुर्वमन्त्रीसमेत रहेका भट्टराईले मधेशको आर्थिक र सामाजिक समृद्धिका लागि एमालेकै सरकार अनिवार्य रहेको बताएका हुन् ।

उनले एमाले नेतृत्वकै सरकारबाट मुलुक, प्रदेश र स्थानीय तहले सहजरुपमा जनताका लागि आर्थिक समृद्धि, सामाजिक न्याय र समानता सम्भव रहेको बताए ।एमाले मधेश प्रदेशका इन्र्चासमेत रहेका सचिव भट्टराईले भने, ‘गएको पाँच वर्षमा कुनै पार्टीको मुख्यमन्त्री र यो एक वर्ष अर्कै पार्टीको मुख्यमन्त्रीले के कति जनताका लागि काम गरेको छ, विकासको काम गरेको छ, जनताको सुशासन र सामाजिक न्यायका लागि काम गरेको छ, हामीले देख्यौँ, त्यही भएर अब आउने निर्वाचनमा एमालेको सरकार निश्चित छ ।’

उनले ०८० साल एमालेका लागि संगठन निर्माण वर्षको रुपमा रहेको बताउँदै सचिव भट्टराईले अबको एमालेको मिसन आफ्नो संघदेखि प्रदेशसम्ममा एमालेको बहुमतको सरकार हुने दावी गरे ।
एमालेको मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज २४ देखि २५ गतेसम्म दुई दिवसीय हुने जानकारी एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले दिए ।

उनले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने प्रदेश अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।
उनले यस समारोहमा विभिन्न सांस्कृतिक झाकी, स्थानीय भेषभुसा, बाजागाजा र सांस्कृतिक टोलीले प्रस्तुती गर्ने बताए ।

यस अधिवेशनमा मधेश प्रदेशको ८ वटै जिल्लाबाट एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने उनले बताए । महिला र युवालाई विशेष प्राथमिकता दिइने समेत उनले बताए ।
एमाले मधेश प्रदेशको तयारी तथा व्यवस्थापनका लागि चरणवद्धरुपमा कामहरु भइरहेको बताउँदै यसका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, समिति तथा विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ ।

एमालेले मधेश प्रदेशको अधिवेशनका लागि सार्वजनिक गरिएको लोगोमा सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तिव्र विकासको आवश्यकतालाई उजार गरिएको एमालेले जनाइएको छ ।


सम्बन्धित समाचार