Logo

१२ असोज,वीरगञ्ज । चिकित्सकहरुमाथि भईरहेको श्रृंखलावद्ध आक्रमणको विरोधमा वीरगञ्जमा पनि चिकित्सकहरुले आज बहिरंग (ओपीडी) सेवा बन्द गर्ने भएका छन् । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगन्जले पछिल्लो पटक विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भौतिक आक्रमण र अस्पतालका भौतिक पूर्वाधार संरचनाहरु तोडफोडका घटनाहरुको विरोधमा आज बिरामी जाँच्ने ओपीडी बन्द गर्ने जनाएको हो ।

संघका अध्यक्ष डाक्टर मनोज गुप्ता र डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा बढीरहेको घटनाको घोर भत्र्सना गर्दै ओपीडी सेवा बन्द गर्ने जनाएको हो ।
संघले आक्रमणका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मीहरु लगायतका स्वास्थ्य संस्थाहरुलाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ ।

नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा आज ओपीडी (बहिरंग) सेवा बन्द गर्ने जनाएको हो । संघले नारायणी अस्पताल सहित सबै निजी अस्पताल, मेडिकल कलेज, क्लिनिक र नर्सिङ होममा पनि ओपीडी सेवा बन्द गर्न आग्रह गरेको छ ।

 


सम्बन्धित समाचार