Logo

१२ असाेज, वीरगञ्ज । सरकारले देशभरमा धार्मिक तथा साम्प्रदायिक विवाद सुरक्षा चुनौती बढेको भन्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै स्वंयम मुलुकमा धार्मिक सदभाव बिगार्ने खेल भइरहेको भन्दै संयमित हुन जनसमुदायलाई विज्ञप्ती मार्फत अपिल गरेपछि यो गम्भीर विषय बनेको हो ।

प्रधानमन्त्री प्रचण्डले नै देशको अवस्थाको बारेमा गम्भीर बन्दै आफ्नो धारणा सार्वजनिक गरेपछि प्रहरी मुख्यालयले सुरक्षा व्यवस्था चुस्त बनाउँन निर्देशन दिएको छ । प्रहरीले धार्मिक वा सम्प्रदायिक रुपमा हुन सक्ने संभावित घटना प्रति सजक र सतर्क रहेको जनाएको छ ।

मुलुकमा धार्मिक तथा साम्प्रदायिक विवादप्रतिको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई मध्यनजर गर्दै प्रहरी मुख्यालयले सबै जिल्लाका कमाण्डरहरुलाई सुरक्षा रणनीति तयार पार्न निर्देश दिइसकेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले पछिल्लो समय मधेशसहित देशभरमा सुरक्षा चुनौती बढेको जनाए । उनका अनुसार त्यसमा पनि सबै भन्दा बढी मधेश प्रदेशमा सुरक्षा चुनौती बढेको छ । विभिन्न नाउँमा सीमा क्षेत्रका शहरहरुमा हुन सक्ने अपराधिक गतिविधि माथि प्रहरीले निगरानी बढाएको प्रहरी प्रवक्ता कडायतको भनाई छ ।

प्रहरी मुख्यालय गरेको आन्तरिक सुरक्षा विश्लेषणमा मधेश प्रदेशमा बढी सुरक्षा चुनौती बढेको घटना पाइएको उनी बताउँछन् । उनले भने, ‘यो विषयमा सरकार नै गम्भीर भएपछि प्रहरी नहुने कुरै भएन, त्यसकारण प्रहरी मुख्यालयबाट हरेक जिल्लालाई पनि परिपत्र भइसकेको छ सुरक्षा रणनीति बनाउँन ।’ सुरक्षा चुक हुने जिल्लामा कारबाही गरिने समेत कडा निर्देशन दिइएको प्रवक्ता कडायतले जनाए ।

के छ सुरक्षा चुनौती ?

प्रहरी मुख्यालयका अनुसार मधेशमा अहिले विशेषतः साम्प्रादयिक विवाद नै मुख्य सुरक्षा चुनौती बनेको छ ।

प्रहरी मुख्यालयका प्रवक्ता भन्छन्, ‘भारतमा चलिरहेको दुई समुदायको विवादको असर बढी मधेशमा परेको छ, जसकारण मधेशमा पनि भारतमा भएको जस्तै केही व्यक्तिहरुबाट गर्न खोजिदै छ ।

जसमा गाई गोरु, मुर्ति विर्सजनसहितका धार्मिक गतिविधिलाइ माध्यम बनाइदैछ ।’ सामाजिक सदभाव बिगार्नमा खुल्ला सीमाले पनि साथ दिइरहेको प्रहरी विश्लेषण छ । उनका अनुसार यसैको उपज पनि हो–सर्लाही घटना ।

प्रहरी विश्लेषणमा सर्लाहीलाई देखाएर मधेशभरि नै यो विवाद चर्काउन खोजिएको पाइएको छ । तर प्रहरी प्रधान कार्यालयले यी सबै घटनाक्रमलाई मध्यनजर गरेर आउँन लागेको चाँडपर्वसमेत ध्यानमा राखी सुरक्षा योजना बनाउँन जिल्लाहरुलाई परिपत्र भएको जनाएको छ ।

बारा र पर्सामा श्रृङ्खलावद्धरुपमा भएका हत्याका घटनाले समेत सुरक्षा चुनौती बढेको देखिन्छ । प्रहरीले भन्छ, हत्याका घटनामा अपराधिको पहिचान गरी कानूनको काठघारमा ल्याउने काम भएका छन् । सम्प्रदायिक रुपमा हुन सक्ने घटनाका बारेमा भने प्रहरीले विभिन्न व्यक्ति र यसमा काम गर्ने संस्थाका वारेमा निगरानी बढाएको जनाएको छ ।

के छ निर्देशन ?

मधेश प्रदेशमा पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक विवाद सुरक्षा चुनौतीको रुपमा बढ्न थालेपछि प्रहरी मुख्यालयले सुरक्षा व्यवस्था चुस्त बनाउँन कडा निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले दिएको निर्देशनमा भनिएको छ–‘आफ्नो जिल्लामा भइरहेको हरेक गतिविधिप्रति गहन विश्लेषण गर्नुस, अपराधिक गतिविधिलाई तुरुन्त निस्तेज पार्ने काम गर्नुस। अपराधी जोसुकै भएपछि त्यसलाई कानुनी कारबाही गर्नबाट ‘ब्याक’ नहुनुस।’

धार्मिक सदभाव बिगार्ने वा बिगार्न खोज्ने जोसुकैलाई गोली हान्नु परे कसैसंग नसोधी त्यो पनि चलाउनु होला,’ प्रहरी मुख्यालयको ठाँडो निर्देशन छ ।


सम्बन्धित समाचार