Logo

फाइल तस्बिर

११ असोज,वीरगञ्ज । पछिल्लो समय वीरगञ्जका बजारमा बजार अनुगमनको जिम्मा पाएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय र सरोकारवाला संघसंस्थाको टोली पुग्दा व्यवसायीले आफ्नो पसल बन्द गरेर भाग्ने गरेका छन् ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय जब अनुगमनका लागि बजार पुग्छ त्यो बेला वीरगञ्जका पसलको सटर धमाधम बन्द हुन थालेका हुन् । कार्यालयले जुन क्षेत्रमा बजार अनुगमन गर्छ एउटा पसलमा पस्नेबित्तिकै वरिपरिका पसलको सटर बन्द गर्ने गरेका छन् । अहिले चाडपर्व नजिकिँदै गएका बेला बजार अनुगमनले तीव्रता पाएको छ ।

असोज २ गते वीरगञ्ज महानगरपालिकाको रेशमकोठीस्थित किराना पसल र श्रृंगारका पसलमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका प्रतिनिधि पुगेपछि धमाधम व्यवसायीले आफ्नो पसल बन्द गरिदिएका थिए ।

त्यस्तै, माईस्थानमा पनि अनुगमन टोली पुग्दा बजारका थुप्रै पसलका सटर बन्द थिए । पसलेले जरिवानामा पर्ने डरले खोलेका पसलको सटर बन्द गरेर भागेका बताइएको छ । अनुगमनको क्रममा किराना पसलमा खान नहुने किसिमका खाद्यवस्तु बिक्री भइरहेको पाइएको थियो । त्यस्तै, श्रृंगारका पसलबाट म्याद उल्लेख नभएका क्रिम भेटिएको थियो । अनुगमन टोलीले सामान जफत गरेर नष्ट गरेको थियो भने पसलेलाई जरिवाना गरेको थियो ।

बजार अनुगमनमा आउँदा एउटा पसलमा अनुगमन टोली छिर्ने बितिक्कै वरिपरिका पसले सटर बन्द गरेर भाग्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले बताउनुभयो । उहाँले बजारका अधिकांश पसलेले मूल्यसूची नराख्ने, अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेकाले कारबाहीमा पर्ने डरले पसल बन्द गरेर भाग्ने गरेको बताउनुभयो ।

यता, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जका निमत्त प्रमुख सुरेशकुमार रेग्मीले बजारमा अनुगमन टोली जाँदा जुन क्षेत्रमा टोली जान्छ त्यो क्षेत्रका पसलेले आफ्नो पसल बन्द गरेर रमिता हेर्ने गरेको जानकारी दिनुभयो । कार्यालयमा कर्मचारी अभाव हुदाँ पनि बजार अनुगमनलाई निरन्तरता दिएको रेग्मीको भनाइ छ ।


सम्बन्धित समाचार