Logo

१२ असोज,वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरस्थित मनोज ग्यास उद्योग प्रालिले गैरकानुनी रुपमा स्वीकृति लिएभन्दा बढी क्षमताका तीन दर्जनभन्दा बढी ग्यास सिलिन्डर जडान गरेको छ। उक्त उद्योगले बारा र मकवानपुर जिल्लाका चारवटा उद्योगमा गैरकानुनी तरिकाले बढी क्षमताका ग्यास सिलिन्डर जडान गरेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरस्थित उद्योगले आफैँ पत्र लेखेर वाणिजय तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जलाई यसको जानकारी दिएको छ। गत भदौ ३१ गते कार्यालय वीरगञ्ज,उपभोक्ता हित संरक्षण मञ्चको केन्द्रीय प्रतिनिधि सम्मिलित टोलीले उद्योगको अनुगमन गरेको थियो।अनुगमनका क्रममा उद्योगमै एउटा ४५० केजीको सिलिन्डर टोलीले उद्योग परिसरमै फेला पारेको थियो।

गैरकानुनी रुपमा उद्योगले बढी क्षमताका सिलिन्डर फेला पारेपछि त्यससमबन्धी बिबरण अनुगमन टोलीले उद्योग प्रशासनसँग माग गरेको थियो। जसअअनुसार मनोज ग्यास उद्योग आफैँले मकवानपुर र बारा जिल्ला तथा उद्योगमा एउटा गरी ४४ वटा ४५० केजीका सिलिन्डर जडान रहेको जानकारी दिएको छ।

जसअनुसार मकवानपुरको हेटौंडास्थित अन्टारकटिक बिस्कुट प्रालिमा ४५० केजीको २७ वटा,पोशक ब्रिडर फर्म प्रालिमा ४ वटा सिलिन्डर जडान गरिएको छ। यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित केबी शाम अल्मुनियम प्रालिमा ७,प्रेस्टिज कार्पेट प्रालिमा पाँच वटा सिलिन्डर जडान गरिएको छ। त्यस्तै उद्योग परिसरमै एउटा सिलिन्डर रहेको मनोज ग्यास उद्योगले नै जानकारी गराएको छ।

यसरी नियमनकारी निकाय नेपाल आयल निगमले १४।२ केजी क्षमताभन्दा बढीको ग्यास सिलिन्डरमा ग्यास भरेर बिक्री बितरण गर्न नपाइने भन्दा भन्दै पनि मनोज ग्यास उद्योगले बढी क्षमताका ग्यास सिलिन्डरमा ग्यास भरेर बिक्रीबितरण गर्दै आएकोले उद्योगमाथि कारवाही हुनुपर्ने माग उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जले गरेको छ।

आज पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले मनोज ग्यासलाई कारवाही गर्नुपर्ने माग गरे। उनले गैरकानुनी रुपमा उद्योगले बढी क्षमताका सिलिन्डरमा ग्यास भरेर बिक्र िबितरण गरेकोले ऐन अनुसार कारवाहीको माग गरे।

मनोज ग्यास उद्योगले आयल निगमबाट खाना पकाउने १४।२ केजी क्षमताको मात्रै सिन्डिरमा एलपी ग्यास भरेर बिक्री बितरण गर्ने अनुमति पाएको छ। तर उसले गैरकानुनी रुपमा ४५० केजी क्षमताका ग्यास सिलिन्डरमा ग्यास भरेर बिक्री बितरण गरिरहेको छ।


सम्बन्धित समाचार