Logo

१४ असोज, वीरगञ्ज । बीरगन्जमा पछिल्लो समय अपराधिक गतिविधि बढ्दै गइरहेका छन् । सीमाक्षेत्रबाट हुने अवैध व्यापार, लागुऔषध तस्करी, चोरी, हत्या जस्ता जघन्य प्रकृतिका अपराध बढ्दै गइरहेको घटनाक्रमले देखाइरहेको छ ।

गाउँदेखि सहरसम्म छ्यापछ्याप्ती कैयौं उदाहरण छन् । यो महिनाको १४ दिनको मात्रै विवरण हेर्ने हो भने ३ दिन विराएर एउटा घटना भइरहेको देखिन्छ ।

चाँडपर्वको मुखमा बीरगन्ज अक्रान्त हुँदा पनि प्रहरी प्रशासन भने सामान्य ‘ड्यूटी’ गरिरहेको झै प्रस्तुत भइरहेको जनगुनासो छ । किनकी, पछिल्लो १४ दिनमा मात्रै पर्सा जिल्लामा आधा दर्जन आपराधिक गतिविधि भएका छन् ।

पहिला केही उदाहरण हेरौं ।

अपराध–१ (चोरी)

बीरगन्जको घण्टाघरबाटै महानगरपालिकाले सौन्दर्यका लागि लगाएको बत्ती चोरी भयो । सौन्दर्यकरणका लागि बत्ती नै गायब भएपछि त्यसको कम्पन महनगरसम्ममै पुग्यो । जसको आवेगमा मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया नै जनाए ।

यो घटना हो, शनिबारको । बत्ती चोरी जुनसुकै उमेरकाले गरेपनि यहाँ प्रश्न उठ्छ–घण्टाघरको अगाडि नै ड्यूटी गर्ने प्रहरी कहाँ ड्यूटी गर्दै थियो ? अथवा के काममा व्यस्त थियो ? यी यावत प्रश्नले प्रहरीको काम कतव्र्यमाथि चुनौती थपिदिएको छ ।

अपराध–२ (बाल कैदी फरार )

पर्सा प्रहरीकै सुरक्षाबीचबाट कम उमेर अर्थात् बाल कैदीबन्दी फरार भएका छन् । बाल सुधार गृहबाट शुक्रबार विहान छतबाट हाम फालेर बाल कैदीबन्दीहरु फरार भए । त्यो पनि कहाँबाट भने जहाँ ९ जना प्रहरीको ड्यूटी थियो ।

उनीहरुका सुरक्षाका लागि पर्सा प्रहरीबाट असईको कमाण्डमा ९ जना प्रहरीलाई खटाएको थियो । तर ती प्रहरीहरुको लापरबाहीको आंकलन गर्दै बाल कैदीबन्दीहरु छतबाट हाम फालेर खाली खुट्टा भागेर भारततर्फ पुगे ।

सामान्यतः वारिपारि गर्ने व्यक्तिलाई सोधखोज गर्ने प्रहरीको ती बाल कैदीबन्दीहरु बिना चप्पल भाग्दा शंकास्पद गतिविधिले भागिरहँदा कसरी ध्यान गएन ? यहाँ प्रहरीको लापरबाही पराकाष्ठा भएको सुरक्षाविद्हरुको तर्क छ ।

यतिमात्र होइन जघन्य अपराधका घटना पनि उत्तिकै भइरहेका छन् । पछिल्लो समय त बेवारिसे लास र हत्याका घटना हठात्ले नभइ योजनाबद्ध नै भइरहेको आम नागरिकमा शंका उब्जिएको छ ।

एक सातामै ४ वटासम्म लास फेला पर्नुले झन् प्रहरी गतिविधिको मात्रै उजागर गरिरहेको छैन, के गर्दैछ पर्सा प्रहरी गम्भीर सवाल पनि खडा भइरहेको छ ।
हत्याका घटनाबारे बुझौं

अपराध–३ (हत्या)

२ असोजमा पर्साको जगरनाथपुर गाउँपालिको मसिहानीमा एक जना महिलाको घाँटी रेटी हत्या भयो । घरमा सुतिरहेको अवस्थामा आफन्तबाट हत्या भयो ।

धारिलो हतियारको प्रयोगले महिलाको हत्या भएको प्रहरीले सञ्चारमाध्यमलाई जनायो । तर यो हत्यामा अहिलेसम्म न त हत्यारालाई प्रहरीले सार्वजनिक गर्न सकिरहेको छ न त ती धारिलो हतियार नै फेला पार्न सकिरहेको छ ।

प्रहरीलाई यो घटनामा पक्राउ परेका एकजना आफन्तले सघाउ पुग्ने बयान दिएपनि त्यसको बेवास्ता गरी प्रहरी नै यो घटनालाई सामसुम पार्न लागेको गाउँलेको आरोप छ । यो घटनामा पनि प्रहरीको लापरबाहीका कारण पीडित परिवारलाई अन्याय भइरहेको उनीहरुको आरोप छ ।

अपराध–४ (प्रहरी लापरबाहीले मृत्यु)

बीरगन्ज छपकैयाबाट २ असोजमै एक युवकको बेवारिसे अवस्थाामा शव फेला प¥यो । सोधखोज गर्दै जाँदा त्यो युवकको मृत्यु प्रहरी लापरबाहीले नै भएको घटनाक्रमले देखायो । किनकी, ती व्यक्तिको मृत्यु हुनु भन्दा पहिला छपकैयाँ प्रहरी बिटमा आफ्नै साथीसंग परेको विवादबारे छलफल भएको थियो जुन बेला उनी लागुऔषधको सेवनले मातिएका थिए ।

अचेत अवस्थामा रहेका ती मृतकलाई छपकैया प्रहरीले आफ्नो हिरासतमा मात्रै राखिदिएको भए उसको ज्यान जाँदैन्थ्यो । तर यहाँ प्रहरीको गम्भीर लापरबाहीले ती व्यक्तिको अकालमै मृत्यु भयो ।

अपराध–५ (महिलाको बेवारिसे बरामद शव हत्या या आत्महत्या )

यही ११ असोजमा पर्सा विन्दवासिनी खोलाबाट अन्दाजी ४० वर्षीय महिलाको शव फेला प¥यो । गाउँपालिकाको वडा नम्बर २ को ढोङगही खोलाबाट ती महिलाको शव बरामद भएको प्रहरीले निकालेको सूचनामा भनिएको छ, जुन महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

अब यहाँ प्रहरीमाथि प्रश्न उठ्छ– कसरी त्यो लास खोलको छेउमा पुग्यो ? यदि ती महिला आफैले आत्महत्या गरेकी हुन भने त्यही छिमेकमै रहेको प्रहरीले किन जानकारी पाएन ? यी प्रश्नले फेला परेको महिलाको बेवारिसे शव आत्महत्या कि हत्या भनेर प्रश्न उब्जिएको छ ।

तर यो सब सवालको जवाफमा प्रहरीले आफ्नो निष्क्रियता नरहेको जनाएको छ । प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बढिरहेको घटनालाई नै मध्यनजर गरेर सुरक्षा योजना बनाउँन लागिएको जनाए । उनका अनुसार अहिले प्रहरी सक्रियता बढाइएको छ । तर त्यो भनेको अर्थ पहिला प्रहरी निष्क्रिय थियो भन्ने होइन,’ उनले भने ।


सम्बन्धित समाचार