Logo

१४ असोज, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र ल्याउनका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताएका छन् । आज वीरगञ्जमा आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन शुरु गरेको बताएका हुन् ।

राजा ल्याउने हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको बताए । राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गरेको बताए ।

उनले राजादेखि माओवादीदेखि सबै अटाउने व्यवस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्था सहितको प्रजातन्त्र सम्भव भएको बताए । यो नै देशको लागि उपयुक्त हुन्छ भन्ने राप्रपा नेपालको मान्यता रहेकोले राजा सहितको प्रजातन्त्रको पक्षमा आफू रहेको थापाको भनाई थियो ।

भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुँदो रहेछ भन्ने विगत १७÷१८ बर्षको राजनीतिक व्यवस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरि राजा सहितको प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे ।

गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको पति हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होईन देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए । प्रधानमन्त्री बनाउदा र हटाउदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तु गर्दै थापाले जनताले देशको प्रधानमन्त्रीको रुपमा महशुस नगरेको दावी गरे । अबको व्यावस्था राजा अभिभावक र जनताले आफैले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनपर्ने बताए ।

सरकार आफै तस्करी र भ्रष्टाचारमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवा गरे । राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको बताए । राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईटेल, महामन्त्री राजाराम बर्तौला लगायतले सम्बोधन गरेका थिए ।

 


सम्बन्धित समाचार