Logo

१५ असोज, पर्सा । पर्साको पर्सागढि नगरपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालय पकडिया बढनिहारको प्राविधिक शिक्षालयमा आर्थिक अनियमितता भएको खुलासा भएको छ । विद्यालयमा आर्थिक अनियमितता भएको स्थानिय अभिभावक तथा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुले आरोप लगाएका छन् ।

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धी परियोजना दोस्रो बुद्धनगर काठमाडौंले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पठाएको तेस्रो किस्ता बापत ६३ लाख रकममा अनियमितता भएको भन्दै ब्यवस्थापन समितिका सदस्यहरुले समेत छानविनको माग गरेका छन ।

विद्यालय ब्यवस्थापन समिति सदस्य जानकी देवी थरुनीका अनुसार विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी, कृषि भेटेरिनरी प्राविधिक शिक्षालयका संयोजक तपेश्वर प्रसाद यादव र विद्यालयका लेखापाल शिवनारायण चौधरीले आपसी मिलेमतोमा अनियमितता गरेका हुन ।

उनका अनुसार पहिले नै निर्माण गरिएको पुरानो टनेल हाउस एक ठाउँबाट अर्को ठाँउमा सार्दा १ लाख पनि नलाग्ने रकम ३ लाख १३ हजार र माटो पुर्ने कार्यको लागि १ लाख १५ हजार खर्च भएकोमा २ लाख ९२ हजार, पर्खाल निर्माणमा ३ लाख ९३ हजार, शौचालय निर्माणमा ५ लाख ७९ हजार, तीन दिनको लागि १५ जना विद्यार्थी र शिक्षकहरु पोखरा शैक्षिक भ्रमण घुमेको ७ लाख ५० हजार, ७ जना प्राबिधिक शिक्षकहरुको पोसाक सिलाएबापत २ लाख ९८ हजार लगायतका खर्चहरुमा अनियमितता भएको दावी गरिएको छ ।

आफुलाई कुनै बैठकमा नबोलाउने र घरमै गई माइन्युटमा दस्तखत गराउने गरेको उनले बताइन् । विद्यालयका अध्यक्ष चौधरी र लेखापालले ६३ लाखको १० प्रतिशत कमिसन रकम ६ लाख अभिबृद्धि परियोजना काठमाडौमा बुझाउने भन्दै विद्यालयबाट लिएर गएकोमा ३ लाख मात्र बुझाएको र बाकी ३ लाख अध्यक्ष र लेखापालले राखेको थरुनीको भनाइ छ ।

लेखापाल र अध्यक्षले राखेको रकम पटकपटक विद्यालयमा जम्मा गर्न भनिएता पनि उनीहरुले आज सम्म जम्मा नगरेको उनको भनाई छ । अभिभावक बिरेन्द्र चौधरीले विद्यालयमा पटकपटक आर्थिक अनियमितता हुँदा समेत नियमनकारी निकाय चुपचाप बस्नुमा उनिहरुको पनि मिलोमतो भएको दावी गरे ।

विद्यालयका अध्यक्ष रामायण चौधरिले कमिसन बापतको रकम ब्यवसायिक शिक्षा तथा तालिम परियोजना बुद्धनगर काठमाडौंका सहसचिब अष्ट लामालाई एक होटलमा बोलाई बुझाएको बताए ।

त्यस्तै प्राविधिक शिक्षालयका संयोजक तपेश्वर यादवले आफू करारको शिक्षक रहेकाले आफुलाई समिति र प्रअले दबाब दिई चेकमा हस्ताक्षर गर्न लगाउने गरेको र कमिसन वापतको रकम मध्ये ३ लाख अध्यक्ष र लेखापालले हिनामिना गरेको कारण फरच्यौट हुन नसकेको जानकारी दिए।

पर्सागढी वडा नं ३ का वडा अध्यक्ष सुकमान तामाङ्गले अनियमितता भएको पाईए जो कोहिलाई पनि कारवाही गरिने बताएका छन् । प्राबिधिक शिक्षालयमा आएको रकमबारे पालिकासँग कुनै सहकार्य नभएको र आफ्नो मातहतमा समेत नरहेको कारण विद्यालयमा भएको अनियमितकोबारे सम्बन्धित निकायले नै जवाफ दिने नगर प्रमुख गोकर्ण पाठकले बताए ।

ब्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धी परियोजना दोश्रो बुद्धनगर काठमाडौका सहसचिव अष्ट लामाका अनुसार आफुले कुनै किसिमको कमिसन नलिएको नारायणी एफएमका सहकर्मीसंग प्रतिक्रिया दिनुभएको छ । उहाँले यो विषयमा निरिक्षण गरि दोष फेला परे जो कोहीलाई कारवाही गरिनेछ ।

विद्यालयमा पहिलो दोश्रो र तेस्रो किस्ता गरि १ करोड २० लाख रकम पठाएकोमा पटकपटक आर्थिक हिनामिना हुँदा समेत सम्वन्धित निकायले ध्यान नदिएको स्थानीयको भनाई छ । दोश्रो किस्ता वापतको रकम ४२ लाखमा समेत हिनामिना भएको भनि परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको बताइएको छ ।


सम्बन्धित समाचार