Logo

२० असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिका– २४ मा रहेको राम जानकी आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ७९ विद्यार्थीको भर्ना भए पनि ४० जना मात्रै नियमित रुपमा विद्यालय आउने गरेका छन्। मुख्य शहरको बिचमा रहेको यस विद्यालयमा एक शिक्षकको भागमा चार विद्यार्थी पर्न आउँछन्।

विद्यालयका प्रधानाध्यापक प्रभुप्रसाद जैसवालका अनुसार एक कार्यालय सहयोगीसहित ११ जना विद्यालयमा कार्यरत छन्। विद्यालयमा स्थायी शिक्षक ३ जना, राहत शिक्षक ४ जना र बालबिकासमा ३ जना छन्।

वीरगन्जको मुख्य चोक घण्टाघरदेखि करिब २ किलोमिटरको दुरीमा रहेको यस विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुची नदेखिएको शिक्षकहरु स्विकार्छन्। विद्यालयका शिक्षक अवधप्रसाद साहका अनुसार विद्यार्थीको संख्या बढाउन धेरै पटक टोलटोलमा पुगेपनि विद्यार्थी संख्या बढेको छैन।

महानगरपालिकाको २४ नं वडाका अध्यक्ष विजयप्रसाद कुर्मीले विद्यार्थी संख्या बढाउन नसकेकाले यहाँका शिक्षकलाई आवश्यक अन्य विद्यालयमा सरुवा गर्न माग गर्दै आएका छन्। केही शिक्षकलाई अन्य ठाँउमा सरुवा गरेर शिक्षकको संख्या घटाउन पटकपटक महानगरको शैक्षिक प्रशासन महाशाखालाई जानकारी गराएपनि वास्ता नगरेको उनको गुनासो छ। विद्यार्थी संख्या घटिरहेकाले शिक्षकहरु पनि नियमित विद्यालयमा आउन छाडेको भन्दै उनले असन्तुष्टि पोखे।

किन बढेन विद्यार्थी संख्या ?

वीरगन्ज महानगरपालिकाले पछिल्लो समय सामुदायिक विद्यालयलाई विभिन्न किसिमको सुधार गर्दै आएको दाबी गरिरहेको भएपनि खासै परिवर्तन देखिएको छैन।

महानगरपालिकाले विद्यार्थी संख्या बढाउन, शिक्षामा गुणस्तर ल्याउन, विद्यालयको अवस्था राम्रो बनाउन, शिक्षकलाई जिम्मेवार बनाउनलाई विभिन्न कार्य गर्दै आएको छ। तर, पनि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा अभिभावकहरु पनि सन्तुष्ट छैनन्।

राज्यले सामुदायिक विद्यालयहरुमा निःशुल्क पठनपाठन, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क परीक्षा व्यवस्थापन र सञ्चालन तथा कक्षा ५ सम्म दिवा खाजाको प्रबन्ध मिलाएको छ। तर सामुदायिक विद्यालयमा विपन्न परिवारका विद्यार्थीहरु मात्र अध्ययन गर्ने भएकाले सुधारमा ध्यान नपुगेको अभिभावक हरि चौहानले बताए।

आधारभूत विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको भन्दै अभिभावकहरूले विद्यार्थीलाई नीजि विद्यालयमा सार्दै आएका अर्का अभिभावक श्याम साह बताउँछन्। उनका अनुसार आधारभूत विद्यालय नाम मात्रको रहेकाले यहाँ पढाउन अभिभावकहरुमा रुची रहेको पाइँदैन। त्यसो त श्रीराम जानकी आधारभूत विद्यालयमा अहिले पनि शिशु कक्षाका विद्यार्थीहरु भुइँमै बसेर बढ्दै आएका छन्।

महानगरपालिकाको शैक्षिक प्रशासन शाखाका अनुसार बढि शिक्षक रहेका विद्यालयबाट शिक्षक मिलानअन्तर्गत अन्य ठाँउमा सरुवा गर्ने तयारी गरिएको छ। शाखाका एक कर्मचारीका अनुसार श्रीराम जानकी आधारभूत विद्यालयका दुई/तीन शिक्षकको महानगरमा अपुग रहेका अन्य विद्यालयमा सरुवा गर्ने तयारी गरिएको छ भन्दै आजको नयाँपत्रिका दैनिकको अनलाइन संस्करणमा समाचार प्रकाशन भएको छ ।


सम्बन्धित समाचार