Logo

२१ असोज,वीरगञ्ज । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री बिजय यादव सहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय कुमार यादव, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरेर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्यितारले सर्लाहीको लालबन्दीमा झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठान नेपालको सहकार्यमा एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालले सो उजुरीमाथि अनुसन्धान हुँदा १७ करोड ९८ लाख ३३ हजार बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानी नोक्सानी, दुरुपयोग गरेको पुष्टि हुन आएको जानकारी दिनुभयो । उहाँले १७ करोड ९८ लाख ३३ हजार बिगोसहित आरोप पत्र दायर गरिएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादवलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप कैद सजाय समेत हुन मागदावी गरिएको अख्तियारले जनाएको छ ।


सम्बन्धित समाचार