Logo

२१ असोज,वीरगञ्ज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिलोमतोमा मधेशमा गैरकानुनी रुपमा क्यासिनोको इजाजतपत्र दिइएको पाइएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मापदण्ड अनुसार मधेश प्रदेशमा २ वटा चार तारे र एउटा पाँच होटलमा वर्गीकरण भएको पर्वतारोहण, होटल तथा अनुगमन शाखामा रेकर्ड छ ।

पर्वतारोहण, होटल तथा अनुगमन शाखाका प्रवास भट्टराइका अनुसार मधेश प्रदेशमा चार तारे २ वटा र पाँच तारे १ वटा होटल छन् । उनका अनुसार चार तारेमा बीरगन्जका दियालो र हिमाल वाटरपार्क एन्ड भिलेज प्रा.लि. छन् भने पाँच तारेमा एउटा मात्रै सिमराको इच्छा होटलको नाम छ ।

यि बाहेक मधेश प्रदेशका आठवटै जिल्लामा चार तारेभन्दा माथिको होटल नभएको उनले जनाए । पर्यटन मन्त्रालयमा वीरगञ्जका २ वटा होटलहरु चार तारेमा वर्गीकरण भएतापनि चार तारे होटलको वर्गीकरणको मापदण्डमा भने नरहेको पाइएको छ ।

चार तारे/पाँच तारे होटलका लागि के छ मापदण्ड ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले एक तारेदेखि पाँच तारे होटल सञ्चालनका लागि त्यसको बेग्लै मापदण्ड बनाएको छ । त्यो मापदण्डमा सबै स्तरको तारे होटलको ल्याण्डस्केपिङ सामान हुनुपर्ने उल्लेख छ ।

चार तारेदेखि पाँच तारे डिलक्स होटलको कुल क्षेत्रफलको ४० प्रतिशतमा संरचना बनाउनु पर्ने उल्लेख छ । साथै होटलले दिने सुविधा लबीबाटै थाहा पाउने गरी उल्लेख हुनुपर्नेछ । यो संगै अन्य धेरै मापदण्ड बनाइएको छ । जसमा यी महत्वपूर्ण मापदण्ड पनि छन् –चार तारे भन्दामाथिको होटलमा ३० वटा देशको झण्डा राख्न मिल्न पोल राख्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डका खेलहरु खेल्न मिल्ने गरी विहान ६ बजेदेखि बेलुकाको ८ बजेसम्म खेलकुदको सुविधा हुनुपर्ने उल्लेख छ ।

हो, अहिले यही मापदण्डको मात्रै चर्चा गरौं । वीरगञ्जका २ वटा होटल, क्लार्क ( हिमाल वाटरपार्क एन्ड भिलेज प्रा.लि. ) र दियालो लर्डस जो आफूलाई चार तारे होटलको दाबी गर्छ ।

के यो मापदण्डमा बनेका छन ? यी मापदण्डहरुका अनुसार त्यहाँ संरचना छन् ? छैनन् भने कसरी भए ४ तारे ? गम्भीर प्रश्न छ ।

अर्थात् यो प्रश्न यही सीमित रहँदैन् । किनभने, मापदण्डभित्र पर्दै नपर्ने यी होटलमा त्यही आधारमा कसरी क्यासिनो सञ्चालन भइरहेका छन् यो गम्भीर प्रश्न खडा भएको छ । जानकारका अनुसार यसले के प्रष्ट पारिरहेको छ भने यो खेलमा सबैको मिलोमतो छ, त्यसकारण सब मौन छन् ।

उनीहरु भन्छन्, ‘नत्रभने चार तारे होटलको मापदण्डभित्र पर्दै नपर्ने होटलमा क्यासिनो इजाजतपत्र नै दिन मिल्दैन्, विभागको बिना मिलोमतोमा यो सम्भव नै छैन । विभागको इसारामा कागजीरुपमा कार्यविधिमा हेरफेर गरेर क्यासिनो सञ्चालनको इजाजतपत्र दिइएको हुनुपर्छ ।’ नत्रभने यो सम्भव नरहेको उनीहरुको ठोकुवा छ ।

कारण–चार तारे र पाँच तारे होटलमा मात्रै क्यासिनो सञ्चालन गर्न पाउँने क्यासिनो नियमावलीमै उल्लेख छ । यो नियमावली विपरीत क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था रहेको एक क्यासिनो सञ्चालक बताउँछन् । तर दियालो होटलका सञ्चालक अनिल रुंग्टाले भने आफूले नियम पु¥याएर नै चार तारे र क्यासिनोको इजाजतपत्र लिएको जनाए ।

उनका अनुसार सम्बन्धित निकायले ४ वर्ष अगाडि स्वीकृति दिएपछि होटल र क्यासिनो सञ्चालन भइरहेको छ । यता क्लार्क रिसोर्टका सञ्चालक सुनिल खेतानले भने आफूलाई चार तारे होटल कार्यविधिबारे थाह नभएको प्रतिक्रिया दिए । उनले भने,‘मेरो चार तारे होटल हो, तर त्यसमा केही छुट्या छ भने त्यो थप्न लगाउँछु ।’

के छ क्यासिनो नियमावलीमा ?

क्यासिनो नियमावली (२०७०) मा लेखिएको छ– कम्तीमा चार तारे÷पाँचतारे होटल वा सो सरहको डिलक्स रिर्सोटको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटल सञ्चालकको लिखित सहमति दिएमा खेलाउन पाउँनेछन् । अर्थात् यो बाहेकका ठाउँमा खेलाउन नपाउने नियमावलीले भनेको छ ।

अब यहाँ प्रश्न उठ्छ – हुँदै नभएको चार तारे÷पाँच तारे होटलमा कुन शक्तिको आडमा क्यासिनोको इजाजतपत्र दिइयो । दिएपनि सम्बन्धित निकाय किन मौन छन् ? यसबारे पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले भने, ‘क्यासिनो नियमावली भन्दा बाहिर गएर अहिले क्यासिनो चलाउन पाइदैन, यदि कसैले चलाइरहेको छ भने त्यो गलत हो ।

क्यासिनो नियमावलीले त अहिले मिनी क्यासिनो भनेर काँही भनेकै छैन, तर तराईमा मिनी क्यासिनो भनेर केही क्यासिनो सञ्चालनमा रहेको विभागलाई सूचना छ, जो नियमविपरीत हो । त्यसलाई कारबाही हुनुपर्छ ।’

मधेश प्रदेशमा कति क्यासिनो ?

मधेश प्रदेशमा कुल ३ वटा क्यासिनो रहेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सिमराको इच्छा होटलमा स्माइल कलेक्सन प्रा.लि, वीरगञ्जको दियालोमा किंग्स र हिमाल वाटरपार्क एन्ड भिलेज प्रा.लि.मा रहेको क्यासिनो मात्रै नवीकरणको प्रक्रियामा रहेको पर्वतारोहण, होटल तथा अनुगमन शाखाका भट्टराई बताउछन् ।

यो बाहेकका वीरगञ्जको होटल सुरजका रक इन्टरनेशनल, सेन्ट्रल मिडिया ग्रुपका भिस्वा र ह्यापी आवरको नाममा सञ्चालित क्यासिनो विभागबाट नवीकरणको अवस्थामा नरहेको उनले जनाए । यी तीनवटै नामबाट अन्य ठाउँमा पनि क्यासिनोहरु सञ्चालनमा रहेको हुँदा नवीरकण नगरिएको पर्वतारोहण, होटल तथा अनुगमन शाखाका भट्टराईको भनाइ छ ।

कारण–क्यासिनो नियमावली (२०७०) ले एक होटलमा एउटा नाममा क्यासिनो सञ्चालन गर्ने नियम बनाएको छ । त्यसकारण हामी पनि त्यहीँ नीति अनुरुप चलिरहेको उनको प्रतिक्रिया छ ।
कार्ड’ र ‘डेक्रेट कार्ड गेमको पनि हुन्छ खेल

“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा वा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट क्यासिनोस्थलमा बाजी (वेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ ।
तर बीरगन्जका यी सबै क्यासिनोमा भने ‘कार्ड गेम’ र ‘डेक्रेट कार्ड गेम’ हुने गरेको छ । जुन नियमावलीले खेलाउँन मिल्दैन ।

कारण–वीरगञ्ज का क्यासिनो मिनी क्यासिनो हो, यस्ता खाले क्यासिनोमा कार्ड गेम ‘ब्यान्ड’ हो । तर स्रोतका अनुसार यहाँ भने निर्वाधरुपमा भइरहेको छ । यो नियमावली विपरीत हो ।

 


सम्बन्धित समाचार