Logo

२२ असोज,ठोरी । पर्साको ठोरी गाँउपालिकामा ५ शैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ ।

२४ सै घण्टा विशेषज्ञ चिकित्सक सहितको सेवा दिने उद्देश्यले स्थापना भएको सो स्वास्थ्य संस्थाको आज ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरुसंग आग्रह गर्नुभयो । यस भन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै उहाँले आगामी दिनमा ठोरीबासी लगायत वरपरका अन्य पालिकाको जनताको स्वास्थ्यका सवालमा गम्भीर बनेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।

ग्रामीण भेगको स्वास्थ्य संस्था भएकाले उपचार शुल्क सबैलाई सहज हुने गरी कायम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो । वीरगञ्ज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी–५ बाघमोर्चामा स्थापना भएको सो पोलिक्लिनिकले हरेक दिन विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्ने संस्थाका सञ्चालक समेत रहनुभएका स्वास्थ्यकर्मी अजवीनाथ गौरोले जानकारी दिनुभयो ।

सो पोलिक्लिनिकमा २४ सै घण्टा एमबिबिएस उत्तीर्ण डाक्टर उपलब्ध रहने साथै दैनिक रुपमा फरकफरक विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा पनि प्राप्त गर्न सकिने स्वास्थ्यकर्मी गौरोले बताउनुभयो ।

हाल सो पोलिक्लिनिकमा डाक्टर रवि गिरीले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्नुहुनेछ । पोलिक्लिनिकमा एक्सरे, भिडियो एक्सरे, इसिजी, प्याथोलोजी, फार्मेसी सेवा लगायत विविध स्वास्थ्य सेवा उपलब्ध छन् ।

पोलिक्लिनिकको ठोरीका विभिन्न ठाउँमा लामो समय देखि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहनुभएका सुरेश साह, अजवीनाथ गौरो, दिपेन्द्र कार्की लगायत स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष संलग्नतामा स्थापना गरिएको हो ।

 


सम्बन्धित समाचार