Logo

२४ असोज,वीरगञ्ज । चाँडपर्वको मौसम सुरु भइसकेको छ । अबको चार दिन पछाडि मात्रै नेपालीहरु महान ठूलो पर्व बडा दशैं सुरु हुँदैछ ।
अर्थात् यही २८ असोजदेखि बडा दशैंको शुभारम्भसंगै नेपालीहरुमा पर्वको हर्षोल्लास छाएको छ ।

सबैलाई चटारो छ –दशैंको तयारी गर्न । ताकी खुसीका साथ सपरिवार दशैं मनाउँन पाइयोस ।अन्य चाडपर्बको तुलनामा दशैंमा बढी किनमेल हुने गरेको छ ।

बढी किनमेल हुने चाडपर्बको रुपमा परिचित रहेको दशैंका मुखमै वीरगञ्जमा भने चहलपहल निकै कम देखिएको हो । चाडपर्बको मुखमा चहलपहल कम भएपछि बजारमा पनि ब्यापारमा ह्रास आएको व्यापारीहरु बताउँछन् । पहिलापहिला दशैं आउनु भन्दा एक साता अगाडिदेखि नै बजारमा चहलपहल बढी हुने गरेको व्यापारीहरुको अनुभव छ ।

कपडा व्यवसायी सबा आलमले भने,‘कपडा व्यवसाय हरेक वर्ष फस्टाउँने व्यवसाय हो तर यसपालि भने त्यस्तो चहलपहल देखिएको छैन, आर्थिक मन्दी छ । त्यो पनि एउटा कारण हो, नत्रभने अन्य पर्व भन्दा पनि दशैं,तिहारमै बढी कपडा विक्री हुने गर्छ । तर त्यो नभएर हामी त दिन गन्दै बसिरहेका छौं ।’

चाडवाडमा सामान्य परिवारदेखि उच्च वर्गका परिवारले नयाँ लुगा किनेर चाडपर्ब मनाउने परम्परा छ । तर यो वर्ष भने दशैं मुखमै आइसकेको भएतापनि कपडाको व्यापार नभएको उनीहरुको भनाइ छ ।
कपडा व्यापारी मात्रै नभइ अन्य व्यवसायी पनि मर्कामा छन् ।

वीरगञ्जमा लामो समयदेखि ‘कस्मेटिक्स’ को व्यवसाय गर्दै आएका सहजाद आलमको समस्या पनि कपडा व्यवसायी सबा आलम भन्दा फरक छैन ।
सहजाद भन्छन्,‘पहिलापहिला चाँडपर्वमा हाम्रो पसल चल्थ्यो , कोरोनामा पनि चलेकै हो तर अहिले आएर ३० प्रतिशत पनि व्यापार छैन । यही अनुपातमा व्यवसाय चल्यो भने छठको विदाइसंगै व्यापारको पनि विदाइ गर्ने अवस्था आउँछ ।’

अहिले व्यापारीहरु धेरै मर्कामा परेको बीरगन्ज उद्योग वाणिज्यसंघका उपाध्यक्ष हरि गौतमको भनाइ छ । उनका अनुसार देशमा छाएको आर्थिक मन्दिका कारणले नै अहिले आम मानिसहरको आर्थिक अवस्था पनि दिनप्रतिदिन कमजोर हुदै गएको छ, जसकाकारणले चाँडपर्वमा पनि बजारमा चहलपहल नरहेको र त्यसैको असर वीरगञ्जको व्यापारमा पनि परेको छ ।


सम्बन्धित समाचार