Logo

२४ असोज,वीरगञ्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । आज एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गरेका हुन् ।

उनले भने, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन । यसैबिच नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा आज उद्घाटन गरेको अधिवेशन दुईदिन सम्म चल्नेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेकै कारण जनकपुरमा रेल सेवा सञ्चालनमा आएको बताउनुभयो । महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र परिसरमा सुरु भएको अधिवेशनमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, रघुविर महासेठ लगायतकाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अधिवेशन स्थलमा सात हजार मानिस अट्ने पण्डाल बनाइएको छ । पण्डाल भित्र नेताकार्यकर्ता र अधिवेशन प्रतिनिधि बस्नका लागि कुर्सी राखिएको छ । अधिवेशनमा मधेस प्रदेशका आठ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी छन् ।

अधिवेशनले एक हजार २ सय ३५ जना पदाधिकारीसहित नयाँ प्रदेश कमिटी चयन गर्नेछ । एमाले मधेस प्रदेशको अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव, बिचारी यादव लगयतले आकांक्षा देखाएका छन् । एमालेले अधिवेशन व्यवस्थापनका लागि एक सय ५ जना स्यमंसेवक परिचालन गरेको छ ।


सम्बन्धित समाचार