Logo

२५ असोज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भू–भागमा के कति कारणले भ्रमणमा आएका हुन्, त्यसको बारेमा सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेको छ।

सो दलका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उक्त माग गरेका हुन्। सांसद लामिछानेले प्रधानमन्त्री मोदी नेपालले केही वर्ष अघि जारी गरेको चुच्चे नक्सामा समावेश भूभागमा आएको उल्लेख गरेका छन्। ‘कुटी, गुञ्जी नेपालको चुच्चे नक्सा भित्र पर्छ।

सदनले पास गरेको नक्सा भित्र पर्छ। त्यसकारण त्यो भू–भागभित्र गुञ्जी पनि पर्छ जहाँ भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको छ। त्यसको आधिकारिताका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरियो। हामी त्यहाँ जान पाउँदैनौँ, तर हामीले थाहा पायौँ भन्नु भएको छ,’ दार्चुलाका प्रजिअसँगको संवादलाई उद्धृत गर्दै लामिछानेले भने।

उनले सरकारलाई व्यंग्य गर्दै तुरुन्तको त्यसको जानकारी माग गरेका हुन्। ‘सरकार र पररष्ट्र मन्त्रालयर्लाइ सोध्न चाहान्छु, यति ठूलो भ्रमण आफ्नो देशमा जहाँ छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण सरकारले सदनलाई जनतालाई जानकारी गराउनु पर्दैन? यसबारेमा सदनलाई सरकार र पररष्ट्र मन्त्रालयले जानकारी गराउनु पर्‍यो,’ उनले माग गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भ्रमण गरेका छन्। बिहीबार बिहान लिम्पियाधुरा नजिकको पार्वती कुण्ड पुगेर मोदीले कैलाश पर्वतको दूरदर्शन तथा पूजा आजा समेत गरेका थिए। मोदीले गुञ्जी क्षेत्रका गाउँलेसँग अन्तर्क्रिरया गरेका पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


सम्बन्धित समाचार