Logo

२५ असोज,वीरगञ्ज । नेपाली कांग्रेस पर्सा कार्यसमितिले महासमिति सदस्यको नामावली अझ केन्द्रीय कार्यालयमा पठाउन सकेको छैन ।केन्द्रले महासमिति सदस्य छानिइसक्नुपर्ने दिएको समय सीमा घर्किन लाग्दा पनि पर्सा कांग्रेसमा भने अझै अनिर्णीतको माहोल छ ।

असोज २९ गतेभित्र महासमिति सदस्य छानेर केन्द्रमा जानकारी गराउनुपर्ने केन्द्रीय समितिको निर्देशन छ । महासमिति सदस्य चयनको नामावली पठाउँन ४ दिन मात्र बाँकी रहँदा पर्सा कांग्रेस भने मौन झै छ ।
पार्टीको केन्द्रीय महाधिवेशन हुनुअघि नै महासमिति सदस्यको चयन भइसक्नुपर्ने हो ।

कांग्रेस विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुले आफूहरु मध्येबाट महासमिति सदस्य चयन गर्ने प्रावधान छ ।कांग्रेसको १४ औं महाधिवेशन भएको झण्डै २ वर्ष पुग्न लागेको छ । तर पर्सामा भने एउटा क्षेत्रबाहेक अन्य ३ क्षेत्रमा महाधिवेशन समिति सदस्यको चयन हुन सकेको छैन ।त्यसकारण केन्द्रमा महासमिति सदस्यको नामावली नपठाउँने जिल्लाको सूचीमा पर्साको नाम पनि दर्ज छ ।
किन अन्योल ?
तर पर्सामा भने अझै महासमिति सदस्य चयनको प्रक्रियाको थालनी भएको छैन । ४ नम्बर क्षेत्रबाहेक महासमिति सदस्य चयनको प्रक्रिया अझै अन्योलमै रहेको कांग्रेसवृतमा चर्चा छ ।
पर्सामा चार वटा क्षेत्र छन् ।

स्रोतका अनुसार एक, दुई र तीनमा भने महासमिति सदस्य चयनको प्रक्रिया पनि अगाडि बढेको छैन । आन्तरिक गुट÷उपगुटका कारण अन्य क्षेत्रमा महासमिति सदस्यको चयन हुन नसकेको पार्टीवृतमा चर्चा छ ।
पर्सा कांग्रेसमा अहिले आन्तरिकरुपमा नयाँ समीकरण बनेको छ । उद्योग मन्त्री रमेश रिजालको नेतृत्वमा एउटा समूह छ भने केन्द्रीय सदस्य एवम सांसद अजयकुमार चौरसियाको नेतृत्वमा अर्को समूह खडा भएको छ ।

मन्त्री रिजालको समूहलाई अर्का केन्द्रीय सदस्य अनिल रुंग्टा, पार्टी सभापति जनार्दन सिंह क्षेत्रीको साथ छ भने सांसद चौरसियालाई कांग्रेस नेता सुरेन्द्र चौधरी र अजय द्विवेदीको (जो अहिले निलम्बन छन्ं) समर्थन छ ।

यसअघिको निर्वाचनमा पार्टी टिकेट नदिएपछि द्विवेदी पार्टीले खडा गरेको उम्मेदरवारको विरोधमा चुनाव लडेका थिए । जसका उनीमाथि पार्टीबाट कारबाही भएको छ । कारबाही भएपनि जिल्लाको संगठनमा भने उनको पक्कड कायमै छ ।

जानकारहरुका अनुसार पर्साको कांग्रेसमा पार्टी संगठनमा चौरसिया समूहको नै दबदबा छ, पकड छ । कारण–तीन क्षेत्रका नेताहरु एकै ठाउँमा उभिएका छन् ।
कांग्रसका एक वरिष्ठ नेता भन्छन्– त्यसकारण ४ नम्बर क्षेत्रबाहेक बाँकी क्षेत्रमा चौरसिया समूहको पकड बलियो छ, उनले चाहेको अनुसार चयन हुन्छ । त्यहाँ जिल्ला कार्यसमितिको केही पनि चल्दैन् ।’ उनी अहिले जिल्लाबाहिर रहेको हुनाले महासमिति सदस्यको चयन अन्योलमा रहेको ती नेताको ठोकुवा छ ।

तर यता पर्सा कांग्रेसले भने आफूहरुमा कुनै विवाद नरहेको बताएको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सहमतिको प्रयास भइरहेकाले महासमिति सदस्य चयनमा ढिलाइ हुन गएको जनाए । उनका अनुसार जिल्लाका शीर्ष नेताहरु बाहिर भएको हुनाले चयन प्रक्रियामा सुस्ती आएको हो ।

तर अब चाँडै सबैसंग समन्वय गरेर महासमिति सदस्यको चयन गरिने सभापति क्षेत्रीको दाबी छ ।
मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महासमिति बैठक हुँदैछ । बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन भइसकेको छ ।


सम्बन्धित समाचार