Logo

२५ असोज,वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यापारीले नेपाल विद्युत प्राधिकरण भ्रष्टाचारको अखडा बन्न पुगेको आरोप लगाएका छन् । आज वीरगञ्जमा भएको अन्तरक्रियाका सहभागी उद्यमीहरुले प्राधिकरणको सेवा प्रवाहमा भ्रष्टाचार व्याप्त रहेको र अनधिृकत रकम नलिई काम नहुने दाबी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले विद्युत व्यापारमा एकाधिकार पाएको प्राधिकरणले सेवामा मनोमानी र भ्रष्टाचारलाई बढावा दिएको भन्दै सुधारका लागि आग्रह गरे । प्राधिकरण व्यापारिक संस्था भए पनि ग्राहकको सेवा सुविधामा कहिल्यै ध्यान नदिएको, उल्टै घूस नबुझाई कुनै पनि काम नहुने अवस्था रहेको बताएका हुन् ।

प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालसँगको अन्तरक्रियामा प्राधिकरणले एकाधिकारको दुरुपयोग गरेको आरोप लगाए । विद्युतको गुणस्तरदेखि सेवा प्रवाहमा सहजीकरणका लागि विद्युत व्यापारमा निजीक्षेत्रको सहभागितामा उनीहरुले जोड दिए । प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा कमजोरी रहेको स्वीकार गर्दै त्यसमा सुधारको लागि निजीक्षेत्रको सहयोग खाँचो रहेको बताए ।

उनले प्राधिकरण पूर्वाधार र प्राविधिक सुधकारका काममा लागेको भन्दै चाँडै नै सुधारको प्रत्याभूति हुने दाबी समेत गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को नियमित र गुणस्तरीय आपूर्तिको माग गरे । पूर्वअध्यक्ष गणेश लाठ, प्रदीप केडियालगायतले प्राधिकरणको पूर्वाधार सुधारमा जोड दिएका थिए ।


सम्बन्धित समाचार