Logo

२६ असोज,वीरगञ्ज । घरबाट हराएका पाँच जना बालिकालाई बारा प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ । बाराको करैयामाई गाउँपालिका–१ हरैया गाउँबाट असोज २२ गते हराएका पाँच जना बालिकालाई प्रहरीले एक भारतीय युवकका साथ नेपाल भारत सीमाबाट उद्धार गरेको हो ।

उद्धार गरिएका बालिकामध्ये एक जना १३ वर्षको, १४ वर्षका दुई जना र १६ वर्षका दुई जना रहेका छन् । उनीहरू सबै एउटै विद्यालयमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

उद्धार गरिएका बालिकाहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । मोतिहारी, पूर्वी चम्पारण, थाना ढाका, बिक्रमपुर गाउँ घर बताउने वर्ष अन्दाजी १८ को कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिकाहरूले योजनाबद्ध तरिकाले नै आफ्ना लुगाफाटा र भएको नगद लिएर घरबाट हिँडेका थिए ।

उद्धार गरिएका बालिकाहरूसँग अभिभावकले कुराकानी गर्ने क्रममा उक्त भारतीय युवकसँग सामाजिक सञ्जाल फेसबूकबाट चिनजान भएको बताएका छन् । करैयामाई गाउँपालिका–१ का वडाध्यक्ष सोनालाल साह तेलीका अनुसार बालिकाहरू असोज २२ गते बिहान साढे ३ बजे घरबाट भागेका थिए ।

अभिभावकले बिहानैदेखि खोजतलास गर्दा पनि नभेटिएपछि भोलिपल्ट बेलुका प्रहरीमा खबर गरेका थिए । हराएका मध्ये एक बालिकाको मोबाइल लोकेसन ट्र्याक गर्दा उनीहरू वीरगञ्ज महानगरपालिका– १० आदर्शनगर एरियामा देखाएको थियो ।

त्यसपछि प्रहरीले उक्त क्षेत्रमा खोजतलास गर्दा भारतको रक्सौल तर्फ गइरहेका बालिकाहरूलाई सोही स्थानमा रहेको रानीसती धर्मशाला नजिकैबाट उद्धार गरिएको थियो । मानव बेचबिखनको लागि बालिकाहरूलाई भारततर्फ लैजान खोजेको आशङ्कामा पक्राउ परेका युवकउपर अनुसन्धान सुरु भएको डिएसपी न्यौपानेले बताए ।

 


सम्बन्धित समाचार