Logo

२६ असोज,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बाबुको पहिचान नखुलेका सन्तानको हकमा आमाको नामबाट नागरिकताका वितरणको लागि प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले बाबुको पहिचान नखुलेका सन्तानहरूलाई नागरिकता प्रदान गर्न असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको हो । जसमा हालसम्म ४० जनाले निवेदन दिएका पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्ता लगायत कुनै पनि कागजपत्रमा बाबुको नाम नखुलेको सन्तानहरूको हकमा आमाको नामबाट नागरिकता वितरण प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ ।

प्रजिअ रेग्मीले नयाँ नागरिकता ऐन आएपछि जारी भएको नयाँ नागरिकता नियमावली अनुसार असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको जानकारी दिनुभयो । आमाको नामबाट नागरिकता माग गर्दै आएका निवेदनहरूमाथि छानबिन गरेर कानुनत योग्य नागरिकहरूलाई एकमुष्ट नागरिकता प्रदान गरिने रेग्मीले बताउनुभयो ।

आमाको नामबाट नागरिकता लागि पर्सा जिल्लाको हकमा करिब १ हजार ५ सयदेखि २ हजारसम्म निवेदन आउने प्रशासनको अनुमान छ ।

आमाको नामबाट बाहेक पनि २०६३ सालमा टोलीबाट नागरिकताका पाएकाहरूको सन्तानहरूको हकमा पनि हालसम्म करिब ६ हजारले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार