Logo

२७ असोज,वीरगञ्ज । चाडपर्व नजिकिदै गर्दा वीरगञ्जको बजारमा भने रौनक देखिएको छैन । आर्थिक मन्दी र आकाशिएको महंगीले गदा वीरगञ्जको व्यापार यतिखेर खस्किएको छ । सीमावर्ती भारतको सहर रक्सोलमा भने सामान किन्न जाने नेपाली उपभोत्ताहरुको भीड थामीसक्नु छैन ।

तर, रक्सोलमा पनि विगतको भन्दा ग्राहक कम आउने गरेको रक्सोलका व्यावसायीहरुले बताउने गरेका छन् । कोरोना महामारीको समयमा नाका बन्द भएपछि धेरै नेपाली उपभोत्ताहरुको नेपालमै सामान किन्ने बानी बसिसकेको थियो । नेपाली उपभोत्तालाई चाहिने खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा रक्सोल र नेपालमा पनि धेरै फरक पर्ने गरेको छ ।

पहिले नेपाली ग्राहकहरु रक्सोल जाँदाखेरी भारतीय रुपैंयाको ‘बाटा’ सटही गर्दा लिईने शुल्क पनि तिर्नुपर्ने हुन्थ्यो । अहिले भारतीय मुद्रा भन्दा नेपाली मुद्रा अनौपचारिक रुपमा बलियो भएको छ । भारतीय मुद्राको स्थिर विनियम दर १०० को नेपाली १६० रुपैंया हुने गरेपनि अहिले भारतीय बजारमा नेपाली रुपैंया १५५ रुपैंया भएको छ ।

त्यसैले पनि नेपाली ग्राहकहरुको रक्सोलनमा भीड लाग्ने गरेको हो । तर, पहिले जस्तो चितवन, हेटौंडा र काठमाडौंका ग्राहकहरुको संख्या कम नै जाने गरेका छन् । वीरगञ्जमा खुलेको विश्वस्तरको चेन बजार भाटभटेनीले केही दिन ग्राहकहरु तानेपनि अहिले भाटभटेनीमा समेत चिनीको मूल्य लगायतका उपभोग्य वस्तुहरुमा गरिएको मूल्य वृद्धिले फेरी वीरगञ्जका ग्राहकहरु रक्सोल जान थालेका छन् ।

नेपाल सरकारले तोकेको चिनीको उपभोत्ता मूल्य ९७ रुपैंया रहेको छ । तर, रक्सोलमा नेपाली रुपैंया ६४ रुपैंया मात्रै पर्ने गरेको छ । भाटभटेनीमा भने चिनीको मूल्य ९० रुपैंया लिने गरेको छ । वीरगञ्जकै खुद्रा बजारमा चिनीको मूल्य ८५ रुपैंया रहेको छ । व्यापारमा भएको मन्दी र आकाशिएको महंगीले वीरगन्ज उद्योग वाणिज्य संघले यसपटक सस्तो बजार समेत नलगाउने भएको छ ।

सस्तो बजार भनेर महंगो मूल्यमा उपभोत्तालाई सामान विक्री गर्नुभन्दा बजार लगाउनु उचित नदेखिएको र वीरगञ्ज महानगरपालिकासँग मिलेर ‘रात्रीबजार’ लगाउने भएकोले यसपटक सस्तो बजार नलगाउने भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताउनुभयो ।

वीरगञ्ज बजारलाई चलायमान बनाउनका लागि वीरगञ्ज महानगरपालिकाले लगाउदै आएको रात्री बजार यसपटक असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म लगाउने भएको छ ।

 


सम्बन्धित समाचार