Logo

२८ असोज,वीरगञ्ज । बारा सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा.कृष्ण पौडेलको मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी लेख्ने एकजनाविरुद्ध साइबर अपराधको मुद्दा परेको छ ।

बाराकै निजगढ निवासी इन्दीप कोइरालाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा वर्तमान मेयर राजन पौडेलको बारेमा जथाभावी लेखेपछि उनीविरुद्ध बारा प्रहरीमा साइबर अपराधको मुद्दा परेको हो ।
उनले फेसबुकमार्फत मेयर राजन पौडेलका कारण पूर्वमेयर पौडेलको मृत्यु भएको आशय जनाएका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘म यति भन्छु यो निधन होइन हत्या हो, राजनीतिक हत्या हो । नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) यसको प्रमुख जिम्मेवार हो, अहिलेका मेयर यसको योजनाकार हुन् । तपाइ नगरप्रमुख हुनुनै तपाइको गलत निर्णय थियो । पाप लाग्छ सबैलाई, तपाइलाई यहाँसम्म पुर्‍याउने दलाल नेता, फटहा, पत्रकार र बिरोधी सबैलाई पाप लाग्छ ।यी सबैले रुनु छ।’

मेयर राजन पौडेल यही शुक्रबार कोइरालामाथि साइबर अपराधको जाहेरी दिएका हुन् । मेयर पोडेलको जाहेरी दर्ता भएको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । उनका अनुसार मेयर पोडेलले मेरो चरित्र हनन् भयो भन्दै जाहेरी दिएका हुन् । त्यो जाहेरी दर्ता भएर अनुसन्धानको प्रक्रियामा रहेको बारा एसपी काफ्लेको भनाइ छ ।

यही बारेमा सिमराका मेयर पौडेल भन्छन,‘संवेदनशीलमा घडीमा मेरो बारेमा अनर्गल प्रचार गरियो, जुन गलत हो । त्यही प्रवृतिलाई रोक्नका लागि कानुनी कारवाहीमा अगाडि बढाएको मात्रै हुँ ।’ कोइराला बारा पत्रकार महासंघको कार्यसमिति सदस्य र एभिन्यूजमा कार्यरत छन् ।

मेयर पौडेलले आफ्नो बिरुद्ध लेखेको स्टाट्समा कमेन्ट र शेयर गर्नेका बिरुद्ध समेत उजुरी दिएका छन् । स्टाट्स शेयर गर्नेहरु अधिकांश बैदेशिक रोजगारिमा रहेकोले उनीहरुका बारेमा कसरी कार्वाही चलाउने भनेर प्रहरीले कानूनी प्रकृयाका बारेमा छलफल गरेको बुझिएको छ ।

कोइराला एमाले समर्थक हुन् । उनका आमा दुर्गा कोइराला हालसालै गठन भएको एमाले मधेश प्रदेश कमिटिमा चयन भएकी छन् ।


सम्बन्धित समाचार