Logo

२८ असोज,वीरगञ्ज । नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बीरगन्जमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
वीरगञ्ज महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको हो ।

सांसद प्रदीप यादवले प्रयोगशालाको उद्घाटन गर्दै उनले भने,‘सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान सरह नै हो, महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा नागरिकले सास्ति खेपिरहेको परेको छ ।’ उनका अनुसार त्यसकारण यो प्रयोगशाला जनहितकारी रहेको छ ।

सस्तो मूल्यमा स्वास्थ्य परीक्षण गर्ने महानगरले वडा नं. ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब संचालनमा ल्याएको हो । प्रयोगशालामा ५४ प्रकारको परीक्षण हुने व्यवस्था गरिएको बीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जनाए ।
महानगरका अनुसार कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निःशुल्क गरिने छ । अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने तयारी भइरहेको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालयसहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला संचालनमा ल्याइएको हो । प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।

प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिने छ ।बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।

सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने महानगर प्रमुख सिंहले बताए ।

त्यस्तै प्रयोगशालामा ज्येष्ठ नागरिक (बृद्ध भत्ता पाइरहेका), मृगौला पीडित, क्यान्सर पीडित, संक्रमित, सहिद परिवार र मधेश आन्दोलनमा घाइते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य सेवा नगरवासीको घरदैलोमै पुर्याउन अहोरात्र काम गरिराखेको वीरगंज महानगरले एक पछि अर्काे स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउँदै सुलभ दरको प्रयोगशाला सेवाको लाभ लिनुहुन पनि महानगर प्रमुख सिंहको अनुरोध छ ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब सञ्चालनमा ल्याइएको जनाए ।

 


सम्बन्धित समाचार