Logo

२९ असोज,वीरगञ्ज । पर्साको सिर्सिया नदीलाई प्रदूषित नबनाउँन महानगरले उद्योगहरुलाई गरेको पत्रचारको बेवास्ता गरेपछि वीरगञ्ज महानगरपालिकाले आज छड्के निरीक्षण गरेको छ ।

प्रदूषित पानी र फोहोर नबगाउन महानगर निर्देशनको बेवास्ता गरेपछि महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले अनुगमन गरेको हो ।
सिर्सिया नदीमा फोहोर फ्याल्ने उद्योगहरुलाई महानगरले पत्र काटेर नै बारम्बार दिएको चेतावनीको अटेरी गरेपछि महानगरले ६ वटा उद्योगमा निरीक्षण गरेको हो ।

महानगरको टोलीले श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्समा अनुगमन गरेको सचिवालयका नवराज फुँयालले जानकारी दिए ।

चाडबाड नजिक्दै गएपछि नदीको पानी सफा बनाउने हेतुले महानगरका मेयर सिंहले सोमबार आफै उद्योगहरुमा अनुगमन गरेको मेयर सचिवालयले जनाएको छ ।

जनताको स्वास्थ्यलाई मध्यनजर गरी मेयर सिंहबाट सिर्सिया नदीको अनुगमन गरिएको वीरगञ्ज महानगरपालिकाले बताएको छ ।
अनुगमनका क्रममा ती ६ वटै उद्योगले सिर्सिया नदीमा आफ्नो उद्योगबाट प्रदूषित पानी र फोहोर बगाउने गरेको पाइएको मेयर सिंहका सचिवालयले जनाएको छ ।

नदीमा फाहोर फ्यालेको पाइएपछि ती सबै उद्योगहरुबारे आवश्यक निर्णय लिन छलफल डाँकिएको वीरगञ्ज महानगरपालिको भनाइ छ ।
महानगरका अनुसार प्रमुख जिल्ला अधिकारीसहित उद्योग वाणिज्यसंघका पदाधिकारीसमेत राखी छलफल गर्न लागिएको हो ।


सम्बन्धित समाचार