Logo

२९ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडवाडलाई लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पर्सा प्रहरीका कमाण्डर एसपी कोमल शाहले बताए।

विभिन्न भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको व्यवस्थाको साथै यो वर्ष उच्च प्रविधिमार्फत सीसीटीभी र ड्रोनबाट सुरक्षा निगरानी बढाउने पर्सा प्रहरीको तयारी छ ।

पर्सा प्रहरी प्रमुख शाहका अनुसार भोलीदेखि नै बीरगन्जमा ड्रोनबाट सुरक्षा निगरानी बढाइने छ । चाडपर्वमा हुने विभिन्न आपराधिक घटनालाई मध्यनजर गरी प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्ति थप गरी पहिलो पटक प्रविधिमैत्री सुरक्षा दिन प्रहरीले तयारी गरेको एसपी शाह बताउँछन् ।

उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा पर्सा प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । भिडभाड बढी हुने स्थानहरूमा सीसीटिभी र ड्रोनलगायतका प्रविविधको पहिलो पटक प्रयोग गरी सुरक्षा निगरानी  बढाउने छौं । यही ड्रोनबाट भिडभाड हुने स्थानलाई नियालेर थप जनशक्ति परिचालन गर्नेछौं ।’

यो वर्ष विशेष सुरक्षा योजना अनुरुप प्रविधि समेतको प्रयोग गरी अति प्रभावकारी हिसाबले प्रहरी जनशक्ति परिचालन गर्ने पर्सा प्रहरीको रणनीति छ ।

कस्तो छ सुरक्षा योजना ?
–यो सुरक्षा योजना यही असोज २८ गतेदेखि नै लागु भइ बडा दशैँ, शुभ दीपावली, र छठपर्वसम्म कायम रहने छ ।

–जिल्लाका सबै ठाउँमा पैदल गस्ती, मोवाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिनेछ ।

–बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर–गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्चाारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिनेछ ।

–यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले विभिन्न ४ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

–विभिन्न स्थानहरु,मठ मन्दिर र मुख्य नाकाहरुमा प्रविधिका साथै तालीम प्राप्त कुकुरबाट चेकजाँच गरिनेछ ।

–सवारीसाधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

–यो सब कार्य कार्यका लागि १ हजार भन्दा बढी सुरक्षाकर्मीहरु परिचालित गरिनेछ ।
यी कार्यहरु नगर्न पर्सा प्रहरीको अनुरोध
१. अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।
२. नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔं ।
३. घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ र छैन एकिन गरौं र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।
४. लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।
५. सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौं । आफ्नो मोवाइल बैंकिङको (ओटिपी) हरदम गोप्य राखौं ।
६. सामाजिक सञ्जाललमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौं
७. मादक पदार्थ सेवन (मापसे) कदापि सवारी नचलाऔं ।
८. ट्राफिक नियमको सदैव पालना गरौं ।
प्रहरी सम्पर्कको लागि
– कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,
– प्रहरी कन्ट्रोल १००,

 


सम्बन्धित समाचार