Logo

३० असोज,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त हुनुभएको छ । मेयरमा निर्वाचित भएर दल त्याग गरेपछि साह पदमुक्त हुनुभएको हो ।

निर्वाचन आयोगले गोरखापत्रमा सूचना प्रकाशन गरेर मेयर साहको पद रिक्त भएको जानकारी दिएको छ । प्रकाशित सूचना अनुसार ०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भइ नगरपालिकाको मेयरमा जितेकी साह दल परित्याग गरी अन्य दलमा गएकोले पदमुक्त भएके उल्लेख छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ । साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुनुहुन्छ ।


सम्बन्धित समाचार