Logo

३० असोज,ठोरी ।ठोरी गाउँपालिकामा सञ्चालित अटो व्यवसायीहरुलाई महिनवारी शुल्क तिर्नुपर्ने भएको छ । ठोरी गाउँपालिकाको अगुवाइमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाभरि सञ्चालित अटो व्यवसायीहरुले अब गाउँपालिकामा दर्ता भइ सदस्यता शुल्क र मासिक शुल्क बुझाउनुपर्ने निर्णय भएको ठोरी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको घ्याङडाँडामा बसेको बैठकले विधान निर्माण गरेर गापा कार्यालयमा दर्ता गर्ने , सदस्यता शुल्क बापत प्रति अटो रु २ सय शुल्क लिने र मासिक १ हजार हरेक अटो व्यवसायीले समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

गापा अध्यक्ष श्रेष्ठसहित अटो व्यवसायीहरुको बैठकले अटो व्यवसायलाई व्यवस्थित गर्न ठोरी अटो यातायात सेवा समिति गठन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

साथै समिति दर्ता पश्चात् नयाँ अटो व्यवसाय दर्ता भएमा ठोरीभित्रका व्यवसायीका लागि ५ हजार तथा बाहिरका व्यवसायीका लागि १० हजार शुल्क लिने निर्णय समेत आजको बैठकले गरेको छ ।

यसैगरी मंगलबार सम्पन्न बैठकमा भाडादरमा एकरूपता ल्याउने निर्णय समेत भएको छ । त्यसका निमित्त व्यवसायीलाई पनि मर्का नपर्ने गरी र यात्रुलाई पनि सहज हुने गरी सरोकारवालाहरुसंगको छलफल पछि भाडादर कायम गरिने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ठोरीका अटो व्यवसायी मोहन बहादुर सिंजाली मगरको अध्यक्षतामा ठोरी अटो सेवाको तदर्थ समिति गठन भएको छ ।

तदर्थ समितिको सचिवमा फुल बहादुर स्याङ्बो र कोषाध्यक्षमा लव कुमार काफ्ले लगायत ११ सदस्य छन् । ठोरी गाउँपालिकामा ३ दर्जनको हाराहारीमा अटो सञ्चालित छन् ।


सम्बन्धित समाचार