Logo

१ कात्तिक,वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट लगभग १३ किलोमिटर दूरीमा पर्ने भारतीय गाउँ रामगढवामा एक नेपाली नागरिकको गोली हानेर हत्या गरिएको छ । रौतहटको गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहको गोली हानेर हत्या गरिएको हो ।

वीरगन्जसँगै सीमा जोडिएको भारतीय शहर रक्सौलबाट मोतिहारी शहर जाने बाटोमा पर्ने रामगढवामा सिंहको गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । रामगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने सिंहको पैसा लुट्ने उद्देश्यले गोली हानेर हत्या गरिएको प्रहरीको अनुमान छ ।

भारतीय सहर मुजफ्फरपुरबाट बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए । नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए ।

गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ समूहले लुटेर लगेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार जनाको सङ्ख्यामा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेका बताइएको छ । उनीहरुले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।

रौतहट प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव पीडित परिवारको जिम्मा लगाइएको बताउनुभयो । घटना विषयमा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको डिएसपी केसीले जानकारी दिनुभयो ।

 

 


सम्बन्धित समाचार