Logo

२ कात्तिक,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका कर्मचारीहरूबीच पिटापिट भएको छ । केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच आज बिहान केन्द्र परिसरमै थप्पड हानाहान तथा चप्पल प्रहार भएको हो ।

हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ्यान लिएर जान खोज्दा जान नदिएपछि उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भ्यान लिएर गइरहेकोले रोक्न खोज्दा विवाद उत्पन्न भएको हो ।
स्टोर इन्चार्जलाई हेल्पर तत्वाले चप्पल प्रहार गरेको कर्मचारीहरूको आरोप छ । विवाद साम्य गर्न केन्द्रका प्रमुख अवधेशकुमार दुवेले दुवै पक्षलाई कार्यकक्षमा बोलाएर छलफल गरिरहेको समयमा सहायक इन्जिनियर चन्द्रिका सिंहले तत्वाको कठालो समाएर घाँटी थिचेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विवाद विषयमा केन्द्रका प्रमुख अवधेशकुमार दुवेले सामान्य विवादमा दुवैबीच झगडा भएको स्वीकार्नुभएको छ । उहाँले दुवै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी दिनुभयो ।
उहाँले हेल्पर तत्वाको व्यवहार दिक्कलाग्दो भएकोमा दुःख व्यक्त गर्दै विभागीय कारबाहीको लागि आफुले प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

कर्मचारीहरूको विवादका कारण करिब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो । अधिकांश सेवाग्राहीहरू अचानक कार्यालयमा के भइरहेको छ भन्ने बारेमा चकित परेका थिए ।
जनताको काम सक्दो चाँडो गर्नुपर्नेमा कर्मचारीबीचको कुटपिटको घटनाले वितरण केन्द्रको प्रतिष्ठामा आँच पुगेको सेवाग्राहीहरूको भनाइ छ । त्यस्तै उनीहरुले सरकारी कार्यालयमा अनुशासनहिन काम गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।


सम्बन्धित समाचार